हेटौंडाका उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन

  • हजुरको खवर
  • बुधबार, बैशाख १२ २०८१ प्रकाशित

बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौँडा औद्योगिक क्षेत्रमा रहेका सम्पूर्ण उद्योगहरूलाई आफ्नो वार्षिक प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन्। मंगलबार (आज) हेटौँडा औद्योगिक क्षेत्रमा रहेका विभिन्न उद्योगहरूको निरीक्षण गरेपछि मन्त्री श्रेष्ठले त्यहाँको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई यस्तो निर्देशन दिएका हुन्।
उद्योग मन्त्री श्रेष्ठले हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापक कार्यालयकी निमित्त व्यवस्थापक संगीता कुँवरलाई सबै उद्योगहरूको वार्षिक प्रतिवेदन संकलन गरी राख्न निर्देशन दिएका छन्। यसैगरी, मन्त्री श्रेष्ठले त्यही औद्योगिक क्षेत्रमा रहेको एसियन पेन्ट्स, एन्टार्टिक बिस्कुट प्रा.लि. र सोफ्टी कम्पनीको पनि अवलोकन गरेका छन्।
उद्योग मन्त्री श्रेष्ठले उद्योगहरूको अवलोकनका क्रममा उद्यमीहरूले भोगिरहेका समस्याहरू र उद्योग मन्त्रालयले गर्नुपर्ने सहयोगका बारेमा पनि छलफल गरेका थिए। यसै क्रममा, एन्टार्टिक बिस्कुट प्रा.लि.ले ठूलो सिलिन्डरको ग्याँस प्रयोग गर्न नपाउँदा ठूलो समस्या भोग्नुपरेको गुनासो गरेको थियो। उनीहरूले उद्योगको संरचना नै ४५० केजीको ग्यास प्रयोग गर्न मिल्ने गरी बनाइए पनि मापदण्डको कारण १४.५ केजीको मात्र ग्यास सिलिण्डर प्रयोग गर्नुपरेको बताएका थिए।
यस समस्याको समाधानका लागि पहल गर्ने प्रतिबद्धता मन्त्री श्रेष्ठले जनाएका छन्। उद्योगीहरूको समस्या समाधान गर्दै उनीहरूलाई नेपालमै टिकाइराख्न प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले सदैव साथ दिने उनले बताए। साथै, मन्त्री श्रेष्ठले औद्योगिक क्षेत्रमा उत्पादित सामग्रीहरू प्रदेशभित्रै प्रयोग गर्ने वातावरण सिर्जना गरिने बताएका छन्।
यस निरीक्षणको क्रममा हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयकी निमित्त व्यवस्थापक संगीता कुँवर, उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रीनाथ शर्मा, उद्योग संघ मकवानपुरका पूर्व अध्यक्ष लेखराज पोखरेललगायतको सहभागिता रहेको थियो।जनपत्रबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।