गर्भवतीलाई आइरन र फोलिकको सट्टा १५ प्रकारका पोषकतत्व भएको 'एमएमएस' चक्की दिइने

  • हजुरको खवर
  • बिहीबार, बैशाख १३ २०८१ प्रकाशित

सरकारले गर्भवतीहरुलाई रक्तअल्पता तथा शरीरमा रगतको कमी हुने समस्याबाट बचाउनका साथै कम तौल भएको बच्चा जन्मने, समय नपुग्दै बच्चा जन्मने, गर्भमा नै शिशुको मृत्यु हुने तथा नवशिशु मृत्यु हुने जस्ता गर्भावस्थामा हुन सक्ने विभिन्न खतराहरुलाई कम गर्नको लागि आइरन र फोलिक एसिड चक्की वितरण गर्दै आइरहेको छ। 

सरकारी स्वास्थ्य संस्थाबाट गर्भवतीले निशुल्क रुपमा आइरन फोलिक एसिडका चक्की पाउने गरेका छन्। गर्भ रहेको तेस्रो महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म १८० ओटा आइरन फोलिक एसिड चक्की वितरण कार्यक्रम नेपालमा सुरु भएको डेढ दशक भइसकेको छ।

गर्भावस्थामा आइरन फोलिक एसिडसँगै अन्य सुक्ष्म पोषक तत्व पनि खुवाउनु राम्रो हुने विभिन्न अध्ययनले देखाएपछि पहिलो चरणमा देशका १० वटा जिल्लामा पुरक बहु सुक्ष्मपोषकतत्वहरुको मिश्रण भएको खाने चक्की 'एमएमएस' (मल्टी माइक्रोन्युट्रेन्ट सप्लिमेन्टस्) वितरण कार्यक्रम सुरु हुने भएको छ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सैद्धान्तिक सहमतिमा हेलन केलर इन्टरनेसनलले १० वटा जिल्लाबाट यो कार्यक्रम सुरु गर्न लागेको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेक कुमार लालले जानकारी दिए। उनका अनुसार विभिन्न अध्ययनहरु तथा विश्व स्वास्थ्य संगठन जस्ता संस्थाहरुले गर्भावस्थामा आइरन फोलिक एसिड मात्रै खानुभन्दा एमएमएस चक्की खानाले गर्भावस्थामा हुन सक्ने खतरालाई अझ धेरै घटाउन तथा पेटमा भएको बच्चाको शारीरिक तथा मानसिक विकासमा पनि राम्रो मद्दत पुग्ने तथ्यहरु प्रस्तुत गरेका छन् । त्यसैले, नेपाल सरकारले पनि यसको आवश्यकता र महत्वलाईअनुशरण गर्दै नेपालका केही जिल्लाहरुमा एमएमएस चक्कीको स्वास्थ्य सेवा प्रदायकमार्फत वितरणका साथै सेवाग्राही माझमा यसको स्वीकार्यता र अनुपालन प्रभावकारिता आदिको अध्ययन शुरु गरेको हो।

प्रभावकारिता अध्ययनको लागि पहिलो चरणमा लुम्बिनी प्रदेशका १० जिल्लाहरु कपिलवस्तु, नवलपरासी, रुपन्देही, अर्घाखाँची, दाङ, प्युठान, रोल्पा, रुकुम (पूर्व), बाँके र बर्दियामा एमएमएस चक्की वितरण गरिने छ। यी जिल्लाका पनि निश्चित स्थानीय निकायबाट पहिलो चरणमा एमएमएस वितरण सुरु हुने डा विवेकले जानकारी दिए।

एमएमएस चक्की स्वास्थ्यकर्मीमार्फत गर्भजाँचको समयमा स्वास्थ्य संस्थाबाट मात्रै वितरण गरिनेछ। पहिलो (१४ हप्ता भन्दा कमको) गर्भजाँचको लागि स्वास्थ्य संस्थामा आएका गर्भवती महिलालाई स्वास्थ्यकर्मीले एमएमएस चक्की उपलब्ध गराउने छन्। तर, यो चक्की मधुमेह, पोलिसिस्टिक ओभरी सिन्ड्रोम (एऋइक्), थाईरोइड रोग, मृगौला रोग,उच्च रक्तअल्पता र फाइब्रोइड जस्ता उच्च जोखिमयुक्त गर्भावस्था भएका महिलालाई भने दिइने छैन।

पहिलो गर्भजाँचमा आएका गर्भवती महिलाको गर्भजाँच गरिसकेपछि आइरन फोलिक एसिड चक्की खाँदा हुने फाइदा र एमएमएसचक्की खाँदा हुने फाइदाको बारेमा राम्रोसँग जानकारी दिएर मात्र गर्भवतीले आफैं स्वेच्छाले एमएमएस चक्की खान चाहेमा मात्रै दिइने डा विवेक बताउँछन्।

'गर्भवतीलाई हाल वितरण हुँदै आइरहेको आइरन फोलिक र अब वितरण हुने एमएमएसको फाइदाका विषयमा जानकारी दिएपछि उहाँहरुको इच्छा अनुसार जुन खान्छु भन्नुहुन्छ त्यो दिइने छ,' उनले भने, 'एमएमएस चक्की खानेले अइरन फोलिक खानु पर्दैन।' उनका अनुसार इच्छुक गर्भवती महिलालाई एमएमएस लेखेको मातृ तथा नवशिशु स्वास्थ्य कार्ड र रजिष्टरमा दर्ता गराए मात्र उपलब्ध गराइने छ।  

हेलन केलर इन्टरनेसनलले तयार पारेको विवरण अनुसार एमएमएस चक्की पत्ता समूह र बोतल समूहमा हुने छ। पत्ता समूह भएमा पहिलो गर्भजाँचको क्रममा ६० चक्कीहरु, दोस्रो देखि पाँचौ गर्भजाँचका क्रममा क्रमश प्रत्येक पटक ३० चक्कीहरु र सुत्केरी पछि ४५ चक्कीहरु उपल्बध गराइने छ। चक्की बोतल समूह भएमा पहिलो गर्भजाँचको क्रममा ९० चक्कीहरु, तेस्रो गर्भजाँचको क्रममा ९० चक्कीहरु र सुत्केरी पछि ४५ चक्कीहरु उपलब्ध गराइने छ। यो चक्की हरेक साँझ खाना खाएपछि र सुत्नु भन्दा अघि १ चक्की खानुपर्छ।

एमएमएस चक्की भनेको के हो?
एमएमएस चक्की भनेको शरीरलाई दैनिक आवश्यक पर्ने विभिन्न प्रकारका भिटामिन तथा खनिजहरु जस्ता १५ सुक्ष्मपोषकतत्वहरु मिश्रण भएको खाने चक्की हो। सुक्ष्मपोषकतत्वहरुले हाम्रो शरीर सुचारु रुपले चलाउने, रोगसँग लड्ने शक्ति बढाउनुको साथै शरीरको स्वस्थ विकास गर्न सहयोग गर्दछ। सुक्ष्मपोषकतत्वहरु हाम्रो शरीरलाई थोरै र दैनिक रुपमा आवश्यक पर्दछ तर हाम्रो शरीरले यसलाई आफैं बनाउन नसक्ने भएकोले खानाबाट नै यस्ता सूक्ष्मपोषक तत्वहरु प्राप्त गर्नुपर्दछ।

एमएमएस चक्कीमा के-के सुक्ष्मपोषकतत्वहरु छन्?
एमएमएस चक्कीमा गर्भवती अवस्थामा बढ्दो पोषणको आवश्यकता र कमीलाई पुरा गर्न १५ किसिमका महत्वपुर्ण भिटामिन तथा खनिजहरु राखिएको छ। गर्भावस्थामा भिटामिन र खनिज पदार्थहरुको धेरै आवश्यकता पर्दछ जसलाई दैनिक खाने खानाबाट मात्रै पुरा गर्न सकिँदैन । त्यसैले गर्भावस्थामा एमएमएस चक्कीमार्फत सो कमीलाई पुरा गर्न सकिन्छ।

गर्भवतीमा रक्तअल्पता तथा रतन्धोको साथसाथै भिटामिन तथा खनिजतत्वहरुको कमिले हुन सक्ने अन्य विकृतीहरुलाई घटाउन यो चक्कीले मद्दत गर्छ। यो चक्कीको सेवनले गर्भमा भ्रुणको राम्रो बृद्घि र विकास गर्नुको साथै कम तौल भएको बच्चा जन्मने, समय नपुग्दै बच्चा जन्मने, गर्भमा नै शिशुको मृत्यु हुने तथा नवशिशु मृत्यु हुने जस्ता खतरालाई कम गर्दछ। गर्भवती महिलालाई स्वस्थ राख्न र प्रसव समयको जोखिम कम गर्दछ। शिशु कुपोषित भई जन्मिने जोखिम कम गर्दछ।

यो चक्कीमा भिटामिन ए, भिटामिन डी३, भिटामिन सि, भिटामिन बि१, भिटामिन बि२, भिटामिन बि३, भिटामिन बि६, भिटामिन इ, भिटामिन बि१२, फोलिक एसिड, आइरन, जिंक, कपर, आयोडिन र सेलेनियम पाइने हेलन केलरले तयार पारेको विवरणमा उल्लेख छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।