इन्डियन प्रिमियर लिग (आइपिएल) को आगामी संस्करण आगामी २१ मार्चबाट सुरु हुने भएको छ। पहिलो खेल तथा फाइनल कोलकातामा हुने छ।
त्यस्तै वुमेन्स प्रिमियर लिग (डब्लुपिएल) को तेस्रो संस्करण ७ फेब्रुअरी देखी २ मार्च सम्म हुने छ। यो पटक प्रतियोगिता ४ भेन्युमा आयोजना हुने छ।
क्रिकइन्फोका अनुसार आइपिएल कमिटीले सबै फ्रेन्चाइज टोलीलाई प्रतियोगिता हुने मितिका बारेमा जानकारी दिएको हो। फ्रेन्चाइजलाई आफ्नो तयारी सुरु गर्न पत्राचार गरिएको जनाइएको छ। आइपिएलको परम्परा अनुसार साविक च्याम्पियन टोलीको घरमा उद्घाटन र समापन हुँदै आएको छ।
आइपिएलको डिफेन्डिङ च्याम्पियन कोलकाता नाइटराइडर्स हो। टिमले फाइनलमा सनराइजर्स हैदराबादलाई हराएको थियो। आइपिएलको पुरा खेल तालिका जनवरीको अन्तिम सम्ममा सार्वजानिक गर्ने तयारी गरिएको छ। १८ औं संस्करणको पहिलो खेलमा कुन-कुन टिम भिड्छन् भन्ने तय भने हुन बाँकी छ।
च्याम्पियन ट्रफीका कारण आइपिएल केही ढिला सुरु हुन लागेको हो। यसअघि आइपिएलको मेघा अक्शनका दौरान आगामी तीन वर्षको सम्भावित तालिका बारेमा जानकारी दिएको थियो। जसअनुसार प्रतियोगिता १५ मार्च देखी २५ मे सम्म हुनु पर्ने हो। तर यो वर्ष ९ मार्चमा आइसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेलिने भएको र खेलाडीको आरामलाई ध्यानमा राखेर केही ढिला आइपिएलको खेल तालिका बनाएको हो।
च्याम्पियन्स ट्रफी १९ फेब्रुअरीबाट ९ मार्च सम्म पाकिस्तान र युएईमा हुँदै छ। त्यसको दुई सातापछि आइपिएल सुरु हुने छ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।