मकवानपुर — हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ मंगलबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ। “बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” भन्ने मुख्य नारासहित यो घोषणा गर्न लागिएको हो।
आइतबार पत्रकार सम्मेलन गर्दै वडाध्यक्ष सुनिल मुक्तानले बालमैत्री वडा घोषणाका लागि तोकिएका ५१ वटा सूचकहरू पूरा भएको जानकारी दिए। तीमध्ये ४५ वटा सूचक शतप्रतिशत, ३ वटा ९७ प्रतिशत, २ वटा ९० प्रतिशत र १ सूचक ८१ प्रतिशत नतिजासहित पूर्णता पाएको छ।
घरधुरी सर्वेक्षण २०७९ अनुसार वडामा २ हजार ३ सय ४५ घरधुरी छन्। जनसंख्या १० हजार ९ सय ७९ रहेको वडामा ५ हजार ४ सय १६ महिला, ५ हजार ५ सय ६१ पुरुष र २ जना लैंगिक अल्पसंख्यक रहेका छन्।
वडामा १ हजार ६ सय २४ बालक र १ हजार ५ सय ५७ बालिका गरी ३ हजार १ सय ८१ बालबालिका छन्। सामुदायिक र संस्थागत विद्यालयसहित १० वटा विद्यालय सञ्चालनमा छन् भने २४ वटा बाल समूह र बाल सञ्जालमा ६ सय बालबालिका सक्रिय छन्। विभिन्न संरचनागत समितिहरूमा ६ सय ४७ जना बालबालिकाको प्रत्यक्ष सहभागिता रहेको छ।
२०७९ मंसिर २६ मा सरोकारवालाको सहभागितामा प्रतिबद्धता जाहेर गर्दै सुरु भएको अभियानमा विद्यालय, टोल र समुदायस्तरमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्।
वडाध्यक्ष मुक्तानका अनुसार नेपाल सरकारले निर्धारण गरेका बाल अधिकारका मुख्य पक्षहरू बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागितासहित ५१ वटा सूचक पूरा गर्दै वडा घोषणाको अन्तिम तयारीमा पुगेको हो।
जिल्लास्तरीय अनुगमन समितिबाट अनुगमनसमेत भइसकेको र वडाको पञ्चवर्षीय रणनीतिक योजना तयार पारिएको उनले बताए। बालश्रममुक्त, बालविवाहमुक्त र बालमैत्री वडा घोषणाको लागि मंगलबार नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिने भएको छ।
वडाध्यक्ष मुक्तानले कार्यक्रमलाई सभ्य र भव्य बनाउन वडावासी, विद्यालय, टोल विकास संस्था, नागरिक समाज र सबै संघसंस्थाहरूलाई सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।