हेटौंडा— सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले किस्ताबन्दीमा विद्युत महसूल भुक्तान गर्ने तयारी गरेको छ। सरकारी स्वामित्वका हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योगले ट्रङ्क र डेडिकेटेड फिडरको बक्यौता महसूल किस्ताबन्दीमा तिर्ने प्रस्तावसहित नेपाल विद्युत् प्राधिकरणमा निवेदन दिएका हुन्।
हेटौँडा सिमेन्टको ३३ करोड ८० लाख ८६ हजार र उदयपुर सिमेन्टको ४४ करोड ७४ हजार रुपैयाँ बक्यौता छ। उदयपुर सिमेन्टले २८ किस्तामा तिर्ने सुविधा अनुरूप पहिलो किस्ता भुक्तान गरिसकेको छ भने हेटौँडा सिमेन्टले पनि प्रक्रिया अगाडि बढाएको छ।
नेपाल विद्युत् प्राधिकरणले गत असोज २४ गते ४९ उद्योगहरूलाई बक्यौता रकम तिर्न सार्वजनिक सूचना जारी गरेको थियो। तोकिएको १५ दिनको अवधिमा पनि कुनै उद्योगले महसूल नतिरेपछि कात्तिक ८ गते प्राधिकरणले ३४ उद्योगको लाइन काटेको थियो।
प्राधिकरणका अनुसार उद्योगहरूले बक्यौता भुक्तान गर्न आउने हो भने तिहारको बिदामा पनि महसूल संकलन र लाइन पुनःजोड्ने सुविधा प्रदान गरिनेछ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।