हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ लाई निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त र बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने निर्णय भएको छ। "बालबालिकामा लगानी, शुनिश्चित भविष्यको थालनी" भन्ने मुल नारासहित माघ १३ गते आईतबार वडाको बालमैत्री वडा घोषणा गर्ने जानकारी वडा अध्यक्ष ढलक बहादुर थापाले दिएका छन्।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा, वडा अध्यक्ष थापाले बालमैत्री स्थानीय शासनको घोषणा गर्न आवश्यक ५१ वटा सुचकहरूमा अभ्यास गरेर ५१ मध्ये ४९ वटा सुचकमा १०० प्रतिशत, १ वटा सुचकमा ९८ प्रतिशत र बाँकी १ वटामा ९५ प्रतिशत नतिजा हासिल भएको बताए।
वडामा २०७९ सालको घरधुरी तथ्यांक अनुसार १८ वर्ष मुनिका बालबालिकाहरूको जनसंख्या १,४९८ रहेको छ, जसमा ७९३ बालक र ७०५ बालिका छन्। यहाँ सामुदायिक र संस्थागत बाल विकास केन्द्रसहित ५ वटा विद्यालय सञ्चालनमा छन्।
समुदाय स्तरमा १२ वटा बालसमूह र १ वडा बालसन्जाल पनि रहेको छ, जहाँ ३ सय बालबालिकाहरू संलग्न छन्। साथै, विभिन्न संरचनात्मक समितिहरूमा पनि ३ सय ४१ जना बालबालिकाहरूको प्रत्यक्ष सहभागिता रहेको छ। यस वडामा बालविवाह शून्य रहेको छ, र ३ जना बालश्रमिकलाई उद्धार गरेर पारिवारिक मिलन गराइएको छ।
वडामा बालअधिकार समिति, बालसमूहहरू, बालसमूह सन्जाल, टोलविकास संस्थाहरू, युवा क्लब, आमा समूह, वन समूह र अन्य सामुदायिक संस्थाहरू क्रियाशील छन्। यसअघि यस वडालाई पूर्ण खोप वडा, पूर्ण साक्षर वडा र खुल्ला दिसामुक्त वडा घोषणा गरिएको छ।
२०७९ सालको भदौ २४ गते हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले सम्पूर्ण वडा र पालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने निर्णय गरेको थियो। त्यसपछि २०७९ सालको मंसिर २० गते सरोकारवाला निकायको उपस्थितिमा अभियान सुरु गरिएको थियो। यस अघि हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८, ७, ९, ४, १७, २, १०, १५, ११, १९, ६, १७, १२ र ५ लाई पनि बालमैत्री वडा घोषणा गरिएको थियो। नवयुगबाट
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।