हेटौंडा, मकवानपुर – एड्स हेल्थकेयर फाउन्डेशन (AHF) नेपालको सहकार्यमा हेटौंडा अस्पतालले कण्डम साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। हेटौंडा अस्पतालको मिटिङ हलमा आयोजित कार्यक्रममा स्वास्थ्यकर्मी, नर्स, सुरक्षागार्ड, अटेन्डर लगायत ६० भन्दा बढी सहभागी उपस्थित थिए।
कार्यक्रमको प्रमुख उद्देश्य कण्डम प्रयोगको सही विधि, प्रभावकारिता, तथा यौनरोग र एचआईभी (HIV) संक्रमण रोकथाममा यसको महत्त्वबारे जनचेतना बढाउनु रहेको थियो।
कार्यक्रमको नेतृत्व वरिष्ठ बालरोग विशेषज्ञ डा. हरि बहादुर खड्काले गर्नुभएको थियो। उहाँले कण्डमका विभिन्न प्रकार, सही प्रयोग विधि, नेपालमा कण्डम वितरण कार्यक्रम, तथा सामाजिक-सांस्कृतिक अवरोधहरूबारे जानकारी गराउनुभएको थियो। साथै, उनले STI/HIV नियन्त्रणका लागि सुरक्षित यौन व्यवहार आवश्यक रहेको बताउँदै कण्डम प्रयोगसम्बन्धी विभिन्न मिथकहरू हटाउन आग्रह गर्नुभयो।
कार्यक्रममा मदन भण्डारी एकेडेमिक साइन्सका प्राध्यापक डा. दिनेश कुमार लम्साल, हेटौंडा अस्पतालकी म्याट्रोन समिता लामा लगायत स्वास्थ्य क्षेत्रका विभिन्न विज्ञहरूको उपस्थिति रहेको थियो।
सहभागीहरूलाई कण्डम वितरण रणनीति, सुरक्षित यौन व्यवहार प्रवर्द्धनका उपाय, तथा स्वास्थ्यकर्मीहरूको भूमिकाबारे विशेष प्रशिक्षण प्रदान गरिएको थियो। सहभागीहरूले प्रशिक्षण अत्यन्तै अन्तरक्रियात्मक र ज्ञानवर्द्धक रहेको प्रतिक्रिया दिएका छन्।
कार्यक्रमको अन्त्यमा, सहभागीहरूलाई समाजमा सुरक्षित यौन अभ्यासबारे खुला संवाद गर्न प्रोत्साहित गर्दै, कण्डमको प्रचार-प्रसारमा सक्रिय भूमिका खेल्न अनुरोध गरिएको थियो।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।