हेटौंडा – हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको वर्तमान अवस्थाबारे जानकारी प्रदान गर्न हेटौंडामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा, बागमती प्रदेशको खानेपानी तथा सिंचाइ मन्त्रालयका सचिव मोहन कुमार शाक्य, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिल्वाल, वडा अध्यक्षहरू र विभिन्न क्षेत्रका सरोकारवालाहरू सहभागी थिए।
बोर्डका अध्यक्ष प्रताप विष्टका अनुसार हेटौंडा उपमहानगरको १ देखि १९ वडामध्ये २, ४, ५, ६, ७, ८, ९, १०, र १४ नम्बर वडा पूर्णरूपमा तथा १, ३, १५, १६, १७, १८ र १९ नम्बर वडाका केही भागमा करिब १ लाख ६५ हजार नगरबासीलाई दैनिक ३ करोड ७० लाख लिटर खानेपानी उत्पादन गरी २८,११२ धारामार्फत ८ देखि ९ घण्टासम्म आपूर्ति गर्दै आएको छ। मुख्य बजार क्षेत्रमा भने २४ घण्टासम्म पानी वितरण सफलतापूर्वक भइरहेको छ।
बोर्डले अहिलेसम्म १६ वटा खानेपानी उपभोक्ता समितिहरूलाई आफ्नो मातहतमा ल्याइसकेको छ। यद्यपि, वडा नं. ११, १२ र १३ मा भने स्थानीय उपभोक्ता समितिमार्फत खानेपानी वितरण भइरहेको छ।
हेटौंडा उपमहानगरपालिकाले २०७९ साल भाद्रदेखि न्यूनतम १० हजार लिटर पानीको महसुल निःशुल्क गर्दै आएको छ, जसबाट १० हजार लिटरभित्र पानी खपत गर्ने उपभोक्ताहरू लाभान्वित भएका छन्।
बोर्डले आफ्नो स्रोतबाट नगर क्षेत्रका विभिन्न स्थानमा १५ वटा डिप ट्यूवेल निर्माण गरेको छ। साथै, मकवानपुर गढी गाउँपालिकामा ३ वटा, भीमफेदी गाउँपालिकामा २ वटा, र हेटौंडा वडा नं. ९ मा १ वटा गरी ६ वटा समवेल निर्माण सम्पन्न गरेको छ। विभिन्न १२ स्थानमा पम्प तथा पाले घर निर्माण, करिब ४ सय किमी मेन तथा शाखा पाइपलाइन विस्तार, संघीय सरकारको सहयोगमा ओभरहेड ट्यांकी, भूमिगत पानी ट्यांकी, डिप बोरिङ, र विद्युतिकरणको कार्य सम्पन्न भएको अध्यक्ष विष्टले बताए।
संघीय सरकारको ८ करोड रुपैयाँ लगानीमा हेटौंडा वडा नं. १९ बस्तीपुरमा डिप बोरिङ, ओभरहेड पानी ट्यांकी, कार्यालय भवन, र पाले घर निर्माण कार्य सम्पन्न गरिएको छ। अपूर्ण योजनाहरू बोर्डले करिब ३ करोड रुपैयाँ थप लगानी गर्दै सम्पन्न गरेको हो।
बागमती प्रदेश सरकारको सहलगानीमा हेटौंडा वडा नं. १९ बस्तीपुर र वडा नं. १६ मा डिप ट्यूवेल, त्रिशुले क्षेत्रमा ५ लाख लिटर क्षमताको भूमिगत पानी ट्यांकी निर्माण र २० किमी पाइपलाइन विस्तार गरिएको छ।
अहिलेसम्म बोर्डले हेटौंडा वडा नं. ३, ६, ७, १४, १५, १६, १७, १८ र १९ मा सञ्चालित १६ वटा खानेपानी उपभोक्ता समितिहरूबाट ९,५०० धाराहरू हस्तान्तरण गरेको छ। हेटौंडा नगरको खानेपानी वितरण व्यवस्थामा आफू सन्तुष्ट रहेको मेयर मिना कुमारी लामाले बताउनुभयो। जनपत्रबाट
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।