नगर पाष्टर एशोसिएसन, हेटौँडा नगर कमिटीको आयोजनामा येशूको पुनरुत्थान भएको दिनको सम्झनामा पुनरुत्थान दिवस तथा ईष्टर सन्डे भव्य कार्यक्रमगरि मनाएको छ । हेटौडा-४ अवस्थित क्वाइनोनिया सामदान चर्चको सभाहलमा नगर पाष्टर एशोसिएसन, हेटौँडा नगर कमिटीका अध्यक्ष अशोक अधिकारीको सभाध्यक्षता तथा बागमती प्रदेशका प्रदेश सभा सदस्य तथा श्रम,रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो । रेभ.पाष्टर मान बहादुर थिङले शुरुको प्रार्थनाद्धारा गरिको कार्यक्रममा पाष्टर महेश दोङले येशूको पुनरुत्थान र ईस्टर सण्डेको विषयमा जानकारी दिनु भएको थियो । पास्टर दोङले येशु ख्रीष्ट बौरी उठनु भएको दिन भएकोले सम्पूर्ण ख्रीष्टियन समुदायले यस दिनलाई विशेष रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा भव्यताका साथ विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाउँदै आइरहेका बताउनुहुँदै सबैमा शुभकामना समेत दिनु भयो ।
कार्यक्रममा मकवानपुर पाष्टर एशोसिएसनका अध्यक्ष सुवास गोपाली,ईसाई समाजका अध्यक्ष निमटोल्मा आचार्य, मकवानपुर ख्रिष्टियन महासंघका अध्यक्ष मोम लामा लगायतले राज्यले मान्यता दिएको सबै धर्म प्रति समान व्यवहार होस भन्ने चाहना नेपाली ईशाईहरुको रहेको बताउनु भयो । अतिथिहरुले मन्दिर, गुम्बा र विभिन्न क्षेत्रहरुहरुलाई बजेट दिने राज्यले चर्चप्रति सौतेनी व्यवहार गरेको भन्दै केहि बजेट विनियोजित गरेका पनि कार्यान्वयन पक्षमा जटिल भएको गुनाषो राखेका थिए । राज्यले ईसाईहरुलाई हेर्ने दृष्टिकोण परिर्वतन हुनुपर्नेमा जोड दिएका थिए । त्यस्तै ख्रिष्टियनहरुको मृत्यु पश्चात दाहसंस्कारको लागि समाधीस्थलको लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका प्रदेश सभा सदस्य तथा पूर्व श्रम,रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठराज्यले कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले सबै धर्मलाई न्याय गर्ने बताउनुभयो । उहाँले संविधानमा नै धर्म निरपेक्ष व्यवस्था गरेपछि सबै धर्मलाई समान व्यवहार गरी न्याय गर्ने दायित्व राज्यको भएको उल्लेख गर्नुभयो । उहाँले कुनैपनि धर्मका धार्मिक गतिविधि सञ्चालन गर्न राज्यले कुनै अवरोध नगरेको ईसाई धर्मालम्बीहरुको हकहितमा आफु लागिपर्ने बताउनु भयो । उहाँले भन्नुभयो,‘चुनाव ताका जनतामा माँझ गरेका बाचा मैले भुलेको छैन,तपाईहरुको समस्या समाधान गर्न तर्फ लाग्नेछु।’
त्यस्तै हेटौँडा—४ का वडा अध्यक्ष नविन सिग्देलले सबै धर्मको मुल उद्देश्य र लक्ष्य समाजलाई अनुशासनमा ल्याई अपराध मुक्त बनाउने भएको चर्चा गर्दै सबै धर्मले एकले अर्काको मूल्य मान्यतालाई सम्मान गर्दै धार्मिक सहिष्णुता कायम राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,‘वडाको सबै धर्म बराबर हरेकोछ,वडाको तर्फबाट सक्दो सहयोग गर्नेछु।’
कार्यक्रमलाई समापन गर्दै नगरका अध्यक्ष अशोक अधिकारीले यस वर्षको इष्टर सण्डे अर्थात प्रभु येशू ख्रीष्टको पुनरुत्थान दिवसको महान अवसरमा पुनरुत्थान हुनुभएको हाम्रो मुक्तिदाता तथा उद्धारकर्ता प्रभु येशू ख्रीष्टको अनुग्रह, शान्ति, आशिष सबै नेपालीहरु मण्डलीहरु, सबै पाष्टर, एल्डर, डिकन, अगुवाहरु लगायत सम्पुर्ण आमा–बुबा, दाजु–भाई, दिदी–बहिनीहरुमा हार्दिक शुभकामना ब्यक्त गनुभभएको थियो ।
कार्यक्रममा क्वाइनोनिया सामदान चर्चका रेभ.पाष्टर रामकृष्ण पन्तले स्वागत मन्तव्य दिनु भएको थियो । पास्टर दर्शन पाख्रिनले संचालन गर्नुभएको कार्यक्रममा संस्थालाई सहयोग गर्ने विभिन्न मण्डलीका पाष्टर,अगुवाहरुलाई सम्मान समेत गरिएको थियो । इसाई धर्मावलम्बीले आजको दिन बिहान सबेरै आ–आफ्ना चर्चमा बिहानीको प्रार्थना सेवापछि देशका विभिन्न ठाउँमा विभिन्न सुसमाचारीय र्यालीका साथै सभा तथा गोष्ठी लगायतका कार्यक्रमहरूको आयोजना गरी मनाइदै आइएका छन् ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।