सहकारीद्वारा जनप्रतिनिधिहरुलाई सम्मान तथा अनाथ,अपाङ्गलाई आर्थिक सहयोग

  • हजुरको खवर
  • शनिबार, जेष्ठ १४ २०७९ प्रकाशित

हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाले वार्षिकोत्सबको अवसर पारी संस्थाका सदस्य नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । शनिबार हेटौंडामा भएको सहकारीको १६ औं वार्षिकोत्सब कार्यक्रममा हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा बकैया गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष धर्मराज लामिछाने , उपाध्यक्ष भक्तबहादुर खत्री ,बकैया वडा नम्बर १० का वडा अध्यक्ष कमला वाईबा , वडा नम्बर ४ का वडा अध्यक्ष राजन दंगाल , मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरे रहनु भएको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा विभिन्न तहमा संस्थाका ८ जना सदस्यहरु निर्वाचित भएका छन् । संस्थामा हाल २३ सय ५४ जना शेयर सदस्य रहेका छन् भने शेयर पुँजी ५ करोडको हाराहारीमा रहेको छ । संस्थाको कुल निक्षेप ४० करोड रहेको र कुल ऋण लगानी ५० करोड रहेको संस्थाकी ब्यवस्थापक रमला सापकोटाले बताइन् । बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम संस्थाका अध्यक्ष हरिप्रसाद पौडेलको अध्यक्षमा भएको थियो । कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष नुरप्रसाद गौतम , मकवानपुर जिल्ला सहकारी संघका सचीव विरेन्द्र ढुङ्गाना , संस्थाका कानुनी सल्लाहकार अरुण खतिवडा, संस्थाका निवर्तमान सचीव राजकुमार तिमल्सिनाको आतिथ्यता रहेको थियो । संस्थाका कोषाध्यक्ष सिताराम दाहालले संचालन गर्नुभएको कार्यक्रममा संस्थाका संचालक समिति तथा उपसमितिमा रहेका सदस्यहरुको सहभागिता रहेको थियो । यसैबीच संस्थाले वार्षिकोत्सबकै अवसरमा शनिबार नै हेटौंडाको मयुरधापमा रहेको अनाथ,अपाङ्ग बाल पुनर्स्थापना केन्द्रलाई २० हजार रुपैयाँ सहयोग गरेको छ । पुनर्स्थापना केन्द्रका अध्यक्ष रामहरी कोइरालालाई हातेमालो सहकारी संस्थाका अध्यक्ष हरिप्रसाद पौडेल सहितको संस्थाको टोलीले केन्द्रमा नै पुगि रकम हस्तान्तरण गरेको थियो । पुनर्स्थापना केन्द्रमा ६ जना पुरुष , ४ जना महिला र १ जना अन्य गरि ११ जना बालबालिका रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।