मकवानपुर, मकवानपुरको राक्सिराङ गाउँपालिकास्थित सरिखेतको सूर्योदय माध्यमिक विद्यालयमा छात्रावास निर्माण कार्यको शिलान्यास गरिएको छ। बिहीबार नेकपा एमालेका प्रमुख सचेतक तथा मकवानपुर क्षेत्र नम्बर २ का सांसद महेश कुमार बर्तौलाले भूमि पूजन गर्दै शिलान्यास गरेका हुन्।
कार्यक्रममा प्रमुख सचेतक बर्तौलाले विद्यालयसम्म दुई घण्टा पैदल हिँडेर आउने विद्यार्थीहरूको कठिनाइ कम हुने विश्वास व्यक्त गरे।
उनले भने, “निर्वाचनका बेला सार्वजनिक शिक्षामा सुधार ल्याउन ‘एक पालिका, एक आवासीय विद्यालय’ अभियानको कुरा गरेको थिएँ। यसै अभियानअनुसार राक्सिराङको सूर्योदय माध्यमिक विद्यालय र थाहा नगरको झम्केश्वरी माध्यमिक विद्यालयबाट छात्रावास निर्माण सुरु भएको छ।”
छात्रावास निर्माणका लागि बजेट शहरी विकास मन्त्रालयमार्फत व्यवस्था गरिएको हो। सघन शहरी तथा भवन निर्माण आयोजना, चितवनमार्फत ठेक्का प्रक्रिया अघि बढाइएको छ। १ करोड रुपैयाँको कुल बजेट रहेको यस योजनामा सद्गुण निर्माण सेवा, हेटौंडाले ६४ लाख ९२ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ।
निर्माण कार्य २०८२ साल जेठ २६ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।