मकवानपुर, मकवानपुरगढी गाउँपालिकाको सरङपुर तल्लोछापमा निर्माण हुन लागेको पक्की पुलका लागि अर्थ मन्त्रालयबाट १३ करोड २ लाख १२ हजार रुपैयाँ बराबरको बहुवर्षीय स्रोत सहमति प्राप्त भएको छ। सत्तारुढ दलका प्रमुख सचेतक महेश कुमार बर्तौलाको पहलमा सामरी खोलामा उक्त पुल निर्माण सुनिश्चित भएको हो।
बर्तौलाका स्वकीय सचिव आशिष अस्लामीका अनुसार चालु आर्थिक वर्षमा संघीय सहरी विकास मन्त्रालयमार्फत पुल निर्माणका लागि ८५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। उनले भने, “उक्त बजेटले पुल निर्माण प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयबाट बहुवर्षीय स्रोत सहमति आवश्यक थियो। माननीयज्यूले अर्थमन्त्रीसँग समन्वय गरी पुलको आवश्यकता र महत्त्वबारे जानकारी गराएपछि स्रोत सहमति प्राप्त भएको हो। अब छिट्टै स्थानीय पूर्वाधार विकास कार्यालय, हेटौंडामार्फत ठेक्का आह्वान गरिनेछ।”
यो पुलको अध्ययन तथा डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) मकवानपुरगढीका पूर्व अध्यक्ष विदुर हुमागाईको कार्यकालमा गरिएको थियो। हुमागाईका अनुसार, उक्त पुल बासुदेव राजमार्ग र गैरी भन्ज्याङ–सुकौरा हुँदै कान्ति लोकपथ जोड्ने महत्वपूर्ण संरचना हुनेछ। पुल निर्माण सम्पन्न भएपछि हेटौंडा, मकवानपुरगढी, आमभन्ज्याङ, सुकौरा, बुढीचौर लगायतका बासिन्दा र हेटौंडा–काठमाडौंतर्फ यात्रा गर्ने यात्रुहरूलाई प्रत्यक्ष लाभ पुग्नेछ।
साथै, पुलले कृषि उपजको बजारीकरणमा सहजता ल्याउनेछ भने विद्यालय आवतजावत गर्ने विद्यार्थीहरूका लागि समेत ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।