सरकारले बाढीपहिरो पीडितलाई तत्काल उद्धार, राहत र पुनर्स्थापनाको व्यवस्था मिलाउने

  • हजुरको खवर
  • प्रकाशित

अविरल वर्षापछि आएको बाढीपहिरोमा परेकाहरूलाई तत्काल उद्धार, राहत र पुनर्स्थापनामा सरकारले ध्यान दिने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले देशका आठ जिल्ला अहिले बाढीपहिरोबाट प्रभावित भएकोले उद्धारदेखि पुर्नस्थापनाका काम गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, मन्त्रीहरू तथा सुरक्षा निकायबीचको बैठकले उक्त निर्णय गरेको हो। बाढीपहिरोपीडितलाई उद्धार गरी सार्वजनिक भवन, विद्यालयहरूमा राख्न सकिनेबारे छलफल भएको हो।

बाढीपहिरो पीडितलाई तत्काल उद्धार, राहत र पुनर्स्थापनाका विषयमा सरोकारवालाहरुसँग छलफल भएको राष्ट्रिय विपद जोखिम न्यूनफकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए।

प्राकृतिक विपदबाट पीडितहरुलाई तत्काल उद्धार गरी विद्यालय भवन वा सार्वजनिक भवनहरुमा पुनर्स्थापना गर्ने विषयमा छलफल भएको उनको भनाइ छ।गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्यांक अनुसार शुक्रबार बाढी र पहिरोबाट ८ जिल्ला प्रभावित भएका थिए। बाढी र पहिरोमा परेर २३ जनाको मृत्यु, ३६ जना बेपत्ता र २६ जना घाइते छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।