नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले शिक्षा विधेयकलाई राष्ट्रिय महत्त्वको विधेयकको रूपमा वर्णन गरेका छन्। हेटौंडामा आयोजित नेपाल राष्ट्रिय शिक्षक संगठनको १४ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
कार्यक्रममा बोल्दै बर्तौलाले शिक्षकहरूले अधिकारसँगै जवाफदेहिता निर्वाह गर्नुपर्नेमा जोड दिए। उनले भने, “हरेक शिक्षक विद्यालय जान घरबाट निस्कँदा आफ्ना नानीबाबुलाई पनि विद्यालय लैजाने वातावरण सिर्जना गर्न आवश्यक छ।”
बर्तौलाले शिक्षकहरू स्थानीय तहमा बस्न नचाहनुको कारण संघीयताको विरोध नभई स्थानीय तहका नेतृत्वहरूको यातनामूलक मानसिकता भएको बताए। उनले भने, “केही स्थानीय तहका नेतृत्वहरूले शिक्षकहरूलाई संगठनमा संगठित भएकै कारण सरुवा गर्ने अभ्यास गरिरहेका छन्। संविधानले निर्दिष्ट गरेका व्यवस्थाहरू उपयुक्त भए पनि नेतृत्वको कार्यशैलीका कारण समस्या उत्पन्न भएको छ। यस विषयलाई विद्यालय शिक्षा विधेयकले सम्बोधन गर्नुपर्छ।”
उनले सिंगो व्यवस्थामा परिवर्तन ल्याउन संघर्ष गरेका संगठनहरूले अझै सशक्त भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे। उनले भने, “हामी आगामी संसदबाट विद्यालय शिक्षा विधेयक पारित गरेरै अगाडि बढ्ने सोचमा छौं।”
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।