विश्वभरि कोभिड महामारी कम हुँदै गएसँगै विदेशी पर्यटक आगमन बढ्न थालेको छ । फेब्रुअरी २०२२ मा विभिन्न मुलुकबाट १९ हजार सात सय ६६ पर्यटक नेपाल आएका छन्, जुन गत वर्षको सोही महिनाको तुलनामा ११६ प्रतिशतले बढी हो ।
कोभिड महामारीका कारण फेब्रुअरी २०२१ मा विभिन्न मुलुकबाट नौ हजार एक सय ४६ पर्यटक नेपाल आएको पर्यटन बोर्डको तथ्यांक छ । महामारी सुरु हुनुअघि फेब्रुअरी २०१९ मा एक लाख दुई हजार चार सय २३ र फेब्रुअरी २०२० मा ९८ हजार एक सय ९० पर्यटक नेपाल आएका थिए । तर, पछिल्लो समय महामारी कम हुँदै गएपछि पर्यटक आगमन पनि बढ्दै गइरहेको पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । जनवरी २०२२ मा १६ हजार नौ सय ७५ पर्यटक नेपाल भ्रमणमा आएको पर्यटन बोर्डको तथ्यांक छ । जनवरीको तुलनामा फेब्रुअरीमा नेपाल आउने पर्यटक करिब तीन हजारले बढेको छ ।
नेपालमा चैत ०७६ ९मार्च २०२०० देखि फैलिन थालेको कोभिड महामारीले पर्यटन क्षेत्र ठप्प थियो । बीचमा पर्यटक आगमन बढ्न थाले पनि कोभिडको दोस्रो लहर, निषेधाज्ञा, सीमित उडान, विभिन्न मुलुकले ट्राभलमा गरेको कडाइलगायत कारणहरूले पर्यटक आगमन पुनः ठप्प भएको थियो । २०२१ सेप्टेम्बर–अक्टोबरदेखि पर्यटन क्षेत्र बिस्तारै लयमा फर्किन थालेको पर्यटन व्यवसायी बताउँछन् । पर्यटकीय सिजन सुरु भएकाले पर्यटक आगमन बढ्दै जाने बोर्डका निर्देशक लामिछानेले बताए । ‘महामारीको सन्त्रास पनि कम हुँदै गइरहेको छ, विश्वभरिबाट घुमफिरमा निस्कने पर्यटक पनि बढ्न थालेका छन् ।’
कुन मुलुकबाट कति रु
फेब्रुअरी २०२२ मा नेपाल भित्रिएका कुल पर्यटकमध्ये सात हजार दुई सय ६२ पर्यटक सार्क मुलुकबाट आएका छन्, यो कुल संख्याको ३६।७४ प्रतिशत हुन आउँछ । अन्य एसियाली मुलुकबाट नौ सय ५३ पर्यटक नेपाल भ्रमणमा आएका छन् । यस्तै, युरोपका १६ मुलुकबाट चार हजार आठ सय १३ पर्यटक आएका छन् भने अस्ट्रेलिया र न्युजिल्यान्डबाट एक हजार ७३ तथा क्यानडा र अमेरिकाबाट दुई हजार ५१ पर्यटक आएको पर्यटन बोर्डले जनाएको छ ।
फेब्रुअरीमा सबैभन्दा बढी पर्यटक आउनेमा भारत पहिलो र अमेरिका दोस्रोमा रहेका छन् । भारतबाट पाँच हजार नौ सय ९८ पर्यटक आउँदा अमेरिकाबाट तीन हजार एक सय ९५ पर्यटक आएका छन् । यस्तै, युकेबाट दुई हजार दुई सय १७, अस्ट्रेलियाबाट एक हजार ५२, बंगलादेशबाट आठ सय ८८, जर्मनीबाट ६ सय ४२ आएको बोर्डको तथ्यांक छ ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।