विद्युत् महशुल नतिरेपछि लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको लाइन काटियो 

  • हजुरको खवर
  • सोमबार, मङ्सिर ११ २०८० प्रकाशित

विद्युत् महशुल नतिरेपछि लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको लाइन काटिएको छ । लाइट काटिएपछि मन्त्रालय विद्युतविहीन भएको छ । नेपाल विद्युत् प्राधिकरणले मन्त्रालयमा जडान भएको विद्युत् लाइन कटौती गरेपछि मन्त्रालय विद्युतविहीन हुन पुगेको हो ।

स्वास्थ्य मन्त्रालयको नाममा बुटवलमा मिटर जडान भएको र त्यहाँको रकम भुक्तानी नभएपछि राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको विद्युत् कनेक्सन काटिएको नेपाल विद्युत् प्राधिकरण लमही शाखाले जनाएको छ ।

कार्यालय प्रमुख युवराज रावतका अनुसार बुटवलमा मन्त्रालयको नाममा जडान भएको विद्युतको बाँकी बक्यौता महशुल दुई लाख ७२ हजार दुई सय ६४ रुपैयाँ ४४ पैसा भुक्तानी गर्न बाँकी छ । सो रकम भुक्तानी गर्ने विषयमा मन्त्रालयले कुनै जिम्मेवारी नलिएपछि बाध्य भएर राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको विद्युत् कटौती गर्नुपरेको दाबी रावतको छ ।

‘बुटवल कार्यालयबाट पटक पटक पत्राचार भए अनुसार हामीले यहाँबाट मन्त्रालयको विद्युत् काट्नुपर्‍यो’रावतले भने,‘यहाँ मन्त्रालयको नाममा जडान भएको विद्युतको भने बाँकी बक्यौता छैन । बुटवलको रकम नतिर्दा यहाँबाट बिजुली काट्नुपर्‍यो ।’

राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयमा मंसिर ५ गते विद्युत् काटिएको हो । हालसम्म बिजुली जडान नहुँदा मन्त्रालयको कामकाज प्रभावित छ । बुटवल स्वास्थ्य मन्त्रालय बसेको कार्यालयमा गैर सरकारी संस्थाको कार्यालय रहेका छन् ।

यता स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर जनार्दन शर्माले विना जानकारी बिजुली काटिएको बताउँनुभयो । ‘पत्र पठाएको २४ घण्टाभित्र बिजुली काटियो । पैसा नतिर्ने भन्ने हुन्न, महशुल भुक्तानीको लागि काम हुँदै छ ।’

मन्त्रालयमा ५ दिनदेखि लाइन नभएकोले सबै काम प्रभावित बनेको मन्त्रालयका सूचना अधिकारी अमर वलीले जानकारी दिनुभयो ।

‘एक दिन त व्याकअपले काम गर्‍यो, त्यसपछि रोकिएको छ, जोड्ने प्रक्रियाका लागि काम भइरहेको छ, सचिवज्यू काठमाडौं जानुभएको छ,’ उहाँले भन्नुभो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।