वर्षाले झापाका १८ परिवार विस्थापित, ५० प्रतिशत धान बाली नष्ट 

  • हजुरको खवर
  • बुधबार, कात्तिक ३ २०७८ प्रकाशित

लगातारको बर्षाले झापामा १८ परिवार विस्थापित भएका छन् । जिल्लाकोे गौरीगञ्ज गाउँपालिका वडा नं १ स्थित टप्पु बस्तीका १८ परिवार विस्थापीत भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिनुभयो । प्रजिअ तिमल्सिनाका अनुसार लगातारको बर्षाले टप्पु गाउँ नै डुबानमा परेको छ । २ देखि ३ फिट सम्म पानी जमेको छ ।

गाउँ नै डुबानमा परेपछि उक्त गाउँका ७५ जनालाई नजिकैको रेडक्रस भवनमा सारिएको उहाँले जानकारी दिनुभयो । लगातारको बर्षाकै कारण गौरीगञ्ज गाउँपालिका वडा नं १ कै होक्लाबारी भन्ने स्थानका ८५ घर उच्च जोखिममा परेका छन् । जोखिममा परेका ८५ घरपरिवारमध्ये २० घरका करिब १ सय जनालाई नजिकैको चर्चमा सारिएको उहाँले जानकारी दिनुभयो । उद्धारका लागि प्रहरी प्रशासन तयारी अवस्थामा रहेको र  त्यहाँ रहेका मानिसहरुसँग सम्पर्क भइरहेको प्रमुख तिमल्सिनाको भनाइ छ । उद्धारका लागि गाउँपालिकामा रबरबोर्ट तयारी अवस्थामा राखिएको छ । गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले पनि बर्षा जारी रहेकाले त्यहाँका सबै नागरिकसगँ आवयश्यक सम्पर्क भइरहेको बताउनुभयो । वडा नं १ को भालुबारी, होक्लाबारी र टप्पु क्षेत्रमा लगातारको बर्षाले ठुलो क्षती भएको उहाँको भनाई छ । यसैबीच लगातारको अविरल बर्षाले झापामा ५० प्रतिशत धानबालीमा क्षती पुगेको छ ।

बर्षाले अधिकांश स्थानमा पाकिसकेको धान ढलेको छ भने काटेर फिजाइएको धानमा समेत क्षती गरेको छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार हालसम्म जिल्लामा लगाइएको मध्ये ५० प्रतिशत धानबालीमा क्षती भइसकेको छ । जिल्लामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान रोपिएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।