लामटाङ राष्ट्रिय निकुञ्जमा १७ हजार पर्यटक भित्रिए 

  • हजुरको खवर
  • सोमबार, माघ ९ २०७९ प्रकाशित

लामटाङ राष्ट्रिय निकुञ्जमा १७ हजार पर्यटकहरू भित्रिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म पौने दुई करोड रुपैयाँ प्रवेश शुल्कवापत सङ्कलन भएको छ । नुवाकोट, रसुवा र सिन्धुपाल्चोक तीन जिल्लामा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्जका अनुसार चालु आर्थिक वर्ष २०७९ / ०८० को साउनदेखि  पुस मसान्तसम्म आन्तरिक र बाह्य गरि १७ हजार तीनसय २७ जना पर्यटकले भ्रमण गरेका छन् । जसमध्ये आन्तरिकतर्फ १२ हजार ५ सय ३०, सार्क राष्ट्रका २ सय ४५, अमेरिका, जर्मन, जापान, अष्ट्रेलियालगायत देशहरूबाट आएका चार हजार ५ सय ५२ जना विदेशी पर्यटकले निकुञ्जको भ्रमण गरेको सरकारी तथ्याङ्क छ । व्यवसायी भीम पौडेलका अनुसार पर्यटकहरू माघको अन्त्य अर्थात् विशेष समूह बनाएर फागुन १५ गतेदेखि बढी पर्यटकको आगमन हुने समय हो । सो सिजनमा धेरै पर्यटक बढ्ने पर्यटन व्यवसायीहरूले अनुमान गरेका छन् । हिमाली पदयात्राका लागि आएका पर्यटकले उत्तरी रसुवाअन्तर्गत उच्चभेगमा रहेको गोसाइँकुण्ड, लामटाङ तथा तामाङ सम्पदामार्गको ग्रामीण बस्तीसमेतका क्षेत्रमा भ्रमण गर्ने गरेका छन् ।  पर्यटकहरु निकुञ्जमा प्रवेश गरेवापत लाग्ने शुल्कबाट कुल एक करोड ६६ लाख ५८ हजार पाँचसय २५ रुपैया राजश्व सङ्कलन भएको छ । निकुञ्ज पदयात्राका लागि सगरमाथा राष्ट्रिय निकुञ्ज र अन्नपूर्ण संरक्षण क्षेत्र पछिको तेस्रो गन्तव्यको रूपमा लामटाङ राष्ट्रिय निकुञ्ज परिचित भएकाले पनि आन्तरिक तथा बाह्य पर्यटकहरूको बाक्लो उपस्थिति हुने गर्दछ । 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।