लकडाउन र मुल्य बृद्धिले मकवानपुरका सुन ब्यवसायी समस्यामा

  • सुनिता विष्ट
  • बुधबार, आषाढ १७ २०७७ प्रकाशित

हेटौंडा उपमहानगरपालिका २ कान्तिराजपथ मा रहेको सफल सौगात सुन चाँदी पसलका प्रवन्धक निर्देशक सफल दुतराज ब्यवसाय बन्द गरौं या घाटा खाएर भएपनि चलाइरहँु भएको छ । विगत १३ बर्ष देखि सफलका बुवा प्रकाश दुतराजले सुन पसल सञ्चालन गर्दै आएका र सफलले पनि सोही ब्यवसाय चलाउँदै आएका छन् । पुख्र्यौली पेशा समेत रहेको सुन ब्यवसाय यतिखेर भने धरापमा पुगेको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण अत्याआवश्यक बाहेकका सबै कामहरु रोकिएका छन् ।  बिवाह, ब्रतवन्ध, तथा पास्नि जस्ता शुभ कार्य नहुनाले पनि सुनको बिक्रिमा कमि आएको सफलको भनाई छ । यो बिवाहको लगन भएको असार महिनामा पनि सोचे जस्तो बिक्रि नै नभएमा उनी चिन्तित छन् । 


सुन बिक्रिमा कमि आउनुको अर्काे कारण मुल्य बृद्धि रहेको पनि दुतराजले बताउनु भयो । सरकारले घोषणा गरेको आर्थिक वर्ष ७७÷७८ को बजेटले सुनमा प्रति तोला झन्डै १० हजार कर बढाएको थियो । भाउ बढेपछि सुन किन्न आउने भन्दा पनि बेच्न आउने मानिसले पसल भरिने गरेको दुतराजले बताए । उनले भने ः “सुनको भाउ बढे पछि बेच्दा नाफा हुने भएकोले धेरै ग्राहकहरुले बिक्रि गर्न ल्याउने गरेका छन् । घाटा भएपनि किन्नै पर्छ । अहिले भाउ बढेको बेला बिक्रि भएन, फाइदा भएन भनेर पसल बन्द गरौं भने आफ्नो ग्राहक भड्किन्छन् ।” रहले भन्दा पनि बाध्यताले पसल खोल्न परेको दुतराजले बताउनु भयो । 


सफल सौगात सुनचाँदी पसल को शाखा बागमती गाँउपालिकाको फापरबारीमा पनि रहेको र त्यहाँ पनि उस्तै घाटाको ब्यापार गर्न परिरहेको दुतराजले बताउनु भयो । अघिल्लो बर्षको तुलानामा ९० प्रतिशत ब्यापार कम भएकोे दुतराज ले बताउनु भयो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागी देश यतिबेला लकडाउनमा छ । लकडाउनको असर प्रयक्ष तथा अप्रयक्ष रुपमा सबै मानिसहरु लाई परेको छ । ज्यालादारी गरी खाने मजदुर देखि ठुला ठुला ब्यापार ब्यवसाय गर्ने सबैलाई आपत्को अवस्था सिर्जना भैरहेको छ । असार १ गतेबाट लकडाउन खुकुलो गरियो । विभिन्न क्षेत्रका ब्यवसायीहरु लाई सुरक्षा अपनाएर आफ्नो ब्यवसाय सञ्चालन गर्न पाउने ब्यवस्था गरियो । तर लकडाउन खुकुलो बनाएर पसल खोल्दा सुन ब्यवसायी हरुलाई झनै घाटा लागेको पाइएको छ । 


यतीबेला दुतराज मात्रै होइन उनि जस्तै धेरै जना सुनचाँदी ब्यवसायीहरु लाई यस्तै समस्या परिरहेको छ । कान्तिराजपथमा नै रहेको आर के ज्वेर्लस का सञ्चालक रामकृष्ण खाती ले पनि उस्तै समस्या सुनाउनु भयो । लामो समयको लकडाउन पछि पसल खोल्दा ब्यापार नभएपछि खाती परिवार समस्यामा छन् । पहिला निकै कम मुल्यमा बिक्रि गरिएको सुन लाई अहिले बढि मुल्य हालेर किन्न परेपछि समस्यामा परेका हुन् । उहाँले भन्नु भयो, “ उसै त बिक्रि नभई रहेको समयमा झन् ३ बजे पछि पसल बन्द गर्न पर्छ । बन्द गर्दा नि कोहि आउँछन् कि जस्तो लाग्छ । सबै तिर बाट घाटा लागिरहेको छ ।” उहाँका अनुसार सुनको भाउ ह्वात्तै बढ्दा खरिद गर्न भन्दा बिक्रि गर्ने ग्राहक बढेपछि रुनु न हाँस्नु भएको छ ।


मकवानपुर सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष केशव रसाइलीले लकडाउनका कारण आर्थिक मन्दि आउनाले बिक्रि गर्न आउनेको संख्या बढेको बताउनु भयो । महासंघको तर्फ बाट ब्यवसायीहरुको हितको लागि ग्राहकले फिर्ता ल्याएका सुन खरिद गर्नमा समेत समस्या भएको बताउनु भयो । सबै लगानी सुनमा गरेका छौँ , सुन खरिद गर्नेको कमी छ, लिएर पनि के गर्ने भन्दै राज्यलाई खरिद गर्न पहल गरेको अध्यक्ष रसाईलीले बताउनु भयो । 
 अहिले मकवानपुर जिल्लामा १ सय १० वटा सुन पसल महासंघमा दर्ता भएको अन्य ४० वटा दर्ता नभई सञ्चालनमा रहेका छन् ।  विगतको तुलनमा अहिले ७० प्रतिशत सुन् बेच्न आउने, २० प्रतिशत खरिद गर्न आउने र १० प्रतिशत जानकारी लिन आउने गरेको उहाँको भनाई रहेको छ। 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।