जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ७ गते माइतीघर मण्डलमा नेकपा एमालेनिकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रम गर्न नदिने निर्णय गरेको छ।
सोमबार प्रशासनले दुबै पक्षसँग छलफल गरेको प्रमुख जिल्ला अधिकारी (सिडिओ) जितेन्द्र बस्नेतले जानकारी दिनुभयो। दुबै पक्षले शान्ति सुरक्षा कायम राख्नेबारे लिखित रूपमा प्रतिबद्धता जनाएको पनि उहाँले बताउँनुभयो।
‘उहाँहरूले लिखित रूपमा शान्तिपूर्ण ढंगबाट प्रदर्शन गर्न सुरक्षाको व्यवस्था मिलाइदिनु भन्नुभएको छ,’ सिडिओ बस्नेतले भन्नुभो। दुबै पक्षले मंसिर ७ गते माइतीघर मण्डलामा प्रदर्शन गर्ने बताउँदै आएको छ।
यसरी दुई पक्षको प्रदर्शन जुध्दा शान्ति सुरक्षामा खतरा हुने प्रशासनको आकलन छ। ठाउँ जुधेका कारण दुबै पक्षलाई अन्तै कार्यक्रम गर्न सुझाव दिइएको छ। कुनकुन ठाउँमा कार्यक्रम गर्ने भन्नेबारे पनि निर्णय भइसकेको छैन। प्रशासनले माइतीघरमा निषेधाज्ञा नै लगाउनेबारे पनि छलफल गरेको छ।
‘कुन ठाउँमा कार्यक्रम गर्ने भन्नेबारेमा हामी छलफल गरेर सुरूमा उहाँहरूलाई मौखिक जानकारी दिन्छौं,’ सिडिओ बस्नेतले भन्नुभो।
मेडिकल व्यवसायी प्रसाईंले पछिल्लो समय राजतन्त्रको वकालत गर्दै आएका छन्। उनी र नेकपा एमालेका नेता महेश बस्नेतबीच आरोपप्रत्यारोप गर्दै आएका छन्।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।