मोबाइल नहुँदा अनलाइन कक्षा पढ्ने सपना अधुरै ! सहयोगको अपेक्षा

  • हजुरको खवर
  • बुधबार, आषाढ २४ २०७७ प्रकाशित

आधुनिक नमुना राष्ट्रिय माध्यामिक बिद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा अंशु खनाल र उनकी बहिनी आज्ञा खनाल अनलाइन कक्षामा सहभागी हुन नपाउँदा चिन्तित छन् । विद्यालय बाट सञ्चालन गरिएको सामाजिक बिषयको अनलाइन कक्षा पढ्न नपाउँदा चिन्तित भएका हुन् । अनलाइन कक्षा पढ्नको लागी इन्टरनेट, मोबाइल तथा कम्प्युटरको आवश्यकता पर्छ । तर आफुहरु सँग अनलाइन कक्षाको लागी कुनै पनि साधन स्रोत नभएका कारण पढाई बाट बञ्चित हुनुपरेको अंशुको भनाई छ । उनले भनिन् ः घरमा भएको एउटा मोबाइल पनि बिग्रिएको छ । बाबा ममी लाई किनिदिनु भन्दा पैशा छैन भन्छन् । सबै साथीहरुले पढिराको छन् । हाम्रो मात्र कोर्ष छुट्नेभयो । घरको कमजोरीको कारण हामी दिदि बहिनीले पढ्न नपाएको उनले बताइन् ।


आज्ञा र अंशु दिदिबहिनी दुबैजना एउटै कक्षामा पढ्छन् । यो बर्षको ३ महिना बितिसकेको छ । यसपाली एसईई परिक्षा दिनुपर्छ । तर लकडाउनले विद्यालय जान नपाए पनि वैकल्पिक शिक्षा बाट पनि वञ्चित हुनुपर्दा दिक्क लागेको आज्ञाले बताइन् । उनले भनिन् ः  मोबाइल भैदिएको भए इन्टरनेट अरुको घरको लिएर भए पनि पढ्थ्यौं । लकडाउनको कारण मोबाइल फोन नै आफुहरुको पढाईको बाधक बनेको उनको भनाई छ । अंशु र आज्ञाको आमा र बुवा दुबै जना मयुरी चलाउने काम गर्छन् । हेटौंडा बजार आसपासको क्षेत्रमा मयुरी चलाउने उनिहरु माथी लकडाउनको असर परेको छ । लकडाउनको कारण झण्डै २ महिना मयुरी चलाउन नपाएको र बल्ल तल्ल खुकुलो भएको लकडाउन पनि  असार ४ गते देखि सवारी सञ्चालनमा जोर विजोर प्रणली लागु भएपछि आर्थिक समस्या आएको हो ।


अंशु र आज्ञाको आमा शोभा खनाल छोरीहरुको पढाई रोकिदाँ धेरै पिडामा छिन् । विद्यालय बाट शिीक्षका लक्ष्मि खनालले अनलाइन कक्षामा सहभागी गराउन आग्रह गरिरहेको तर आफ्नो समस्याको कारण सामेल गर्न नसकेको उनको गुनासो छ । आधुनिक मा वि ले असार १ गते देखि रेडियो पाठशाला पनि सञ्चालन गर्दै आइरहेको छ । तर दुवै शिक्षा प्रणाली आफ्नी छोरीहरुलाई प्रभावकारी बन्न नसकेको शोभा ले बताइन् । उनले भनिन् ः हामीले मात्रै पढ्न पाएनौं हाम्रो पढाई  बिग्रिने भयो भन्छन् । मोबाइल कहिले किन्ने भनेर सोध्छन् । लकडाउन खुलेपनि स्कुलमै गएर पढ्थ्यौं भन्छन् । अझै हामी दुईजना लाई मात्र राखेर पढाइदिए नी हुन्थ्यो भन्छन्, गनगन गर्छन् । न सम्झाउने शब्द छ न मोबइल किनिदिने पैशा नै छ । 


आज्ञाको मृगौलाको समस्या समेत रहेको कारण झनै पिडा थपिएको शोभाले बताइन् । उनको लागी महिनाको २ हजारको औषधी खुवाउन पर्ने शोभाको भनाइ छ ।  मयुरी दिन विराएर चलाउने गरेको र एकदिनको कमाई अर्को दिन खानको लागी मात्रै पुग्ने भएकोले छोरीहरुको इच्छा पुरा गर्न नसकिएको उनले बताइन् । 
लकडाउनको कारण पढाई गर्न नपाएका कारण छोरीहरु लाई एउटा मात्र मोबाइल किनिदिन सके दुबैले एउटै मोबाइलमा मिलेर पढ्ने उनको भनाइ छ । तर कसरी किन्ने भन्ने कुराले रातभर निन्द्रा नलाग्ने गरेको शोभाको भनाइ छ । 


 आधुनिक नमुना राष्ट्रिय मा वि का प्रध्यापक विरबंश वैठा ले सकेसम्म विद्यार्थीहरुको पँहुचमा शिक्षा प्रदान गर्दै आएको बताए । त्यसरी विभिन्न कारण ले कोर्ष अगाडी बढाउन नपाएकाहरु लाई लकडाउन खुलेपछि फेरि दोहोर्राएर पढाइने र प्राथमिकतामा राखिने बताए । अंशु र आज्ञा दुबै जना कक्षा १० को राम्रो पढ्ने बिद्यार्थी रहेको उनको भनाई छ । नेपालभर २९ हजार सामुदायिक विद्यालयसहित ३५ हजार हाराहारीमा विद्यालय छन् । बाँकी प्याब्सन र एन प्याब्सनसँग आबद्ध विद्यालय छन् । चैत ११ गते बाट शुरु भएको लकडाउनको कारण विद्यालयहरुले वैकल्पिक शिक्षाको लागी अनलाइन कक्षा चलाइरहेका छन् । तर सबै बिद्यार्थीहरु लाई प्रभावकारी बन्न सकिरहेको छैन । मोबाइल वा कम्प्युटर नहँुनु, घरमा इन्टरनेट नहँुनु तथा घरमा रेडियो सम्म नहँुनु नै विद्यार्थीहरुको शिक्षाको बाधक बन्न पुगेको छ । 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।