सन्दर्भ : विश्व मुटु दिवस
आधुनिक जीवनशैली, खानपान, अल्छीपनाले गर्दा मुटुरोगीको संख्या बढ्दो छ । सहरी क्षेत्रमा व्यस्त जीवनशैलीका कारण मानिसले खानपानमा पर्याप्त ध्यान दिन पाएका हुँदैनन् । त्यस्तै, टेबल–कुर्सीमा बसेर काम गर्नेहरूको शारीरिक कसरत पुगिरहेको हुँदैन । व्यायामको कमी अस्वस्थ खानपान, तनाव, अत्यधिक धूम्रपान, मद्यपानजस्ता कारणले गर्दा पनि मुटुरोगीको संख्या बढ्दो छ । मुटुसम्बन्धी बिरामीले समयमै औषधि नखाने, चिकित्सककहाँ नजानेजस्ता लापरवाही गर्नुहुँदैन । यस्तो बानीले रोगलाई अझै बढावा दिन्छ र कतिपयको अकालमै मृत्यु भएको पनि पाइन्छ ।
स्वस्थ राख्न
1. उमेर बढ्दै गएपछि उच्च रक्तचाप हुन्छ । उच्च रक्तचाप भएका बिरामीले औषधि सेवन गरेर मात्रै हुँदैन । रक्तचाप नियन्त्रण भए÷नभएको बुझ्नका लागि चेकजाँच गराइरहनुपर्छ । उच्च रक्तचापले मिर्गौला, रक्तनली, ब्रेनमा पनि नकारात्मक असर पार्न सक्छ ।
2. शारीरिक व्यायाम गर्ने, तौललाई नियन्त्रणमा राख्ने गर्नुपर्छ । चिन्ता, तनावलाई कम गर्ने, कोलेस्ट्रोल र सुगरलाई कन्ट्रोलमा राख्ने गर्नुपर्छ । वेला–वेलामा मुटुको स्क्रिनिङ गर्नुपर्छ । ३५ वर्षभन्दा माथिका नागरिकले सुगर र कोलेस्ट्रोलको मात्रा चेकजाँच गर्नुपर्छ ।
3. स्वस्थ खानपान आवश्यक हुन्छ । चिल्लो कम खाने, नुनको मात्रा कम गर्ने, सागपात खाने, रातो मासु कम खाने÷नखाने, बेकरीको आइटम नखाने ।
4. यदि तपाईंलाई थकान महसुस भएको छ भने चेकचाँज अनिवार्य गर्नुपर्छ । अत्यधिक धूम्रपान, मद्यपान गर्ने व्यक्तिमा पनि समस्या देखिन सक्ने भएकाले यसबाट टाढा रहनुपर्छ ।
लक्षण
1. मुटुरोगका धेरै कारण छन् । उच्च रक्तचाप, मधुमेहलगायत समस्या भएका मान्छेलाई मुटुरोग हुन सक्ने जोखिम रहन्छ । प्रारम्भिक अवस्थामा मुटुमा समस्या हुँदा लक्षण देखिँदैन । मुटुले पम्प गर्न छोडेको पनि तपाईंलाई थाहा हुँदैन । दैनिक क्रियाकलाप गर्न सक्नुहुन्छ । बिस्तारै लक्षण देखिन थाल्छ, हिँड्न नसक्ने, ज्यान थकान हुने हुन सक्छ । कतिपयलाई टाउको दुख्ने, भारी हुने पनि हुन सक्छ ।
2. बिस्तारै मुटुको चाल गडबड हुने, पसिना आउनेजस्ता लक्षण देखिन सक्छन् । यदि जन्मजात मुटुको माथिल्लो भागमा प्वाल छ भने लक्षण ढिलो देखिन सक्छ । ४० कटेपछि लक्षण देखिन सक्छ । मुटुको तल्लो भागमा प्वाल छ भने २०–२२ वर्षको उमेरमै पनि लक्षण देखिन सक्छ । स्याँस्याँ हुने, हातखुट्टाका औँला नीलो हुनेजस्ता लक्षण देखिन्छ ।
3. नेपालमा बाथमुटुरोगले धेरैभन्दा धेरै मान्छेको मुटुको भल्ब खराब भइरहेको पाइएको छ । यस्तो अवस्थामा मुटुको अपरेसन गरेर भल्ब फेर्नुपर्ने हुन्छ । कतिपयलाई सानै उमेरमा पनि बाथमुटुरोग हुन्छ । मुटुको भल्ब खिइने, साँघुरो हुने, मुटु फुल्ने हुन्छ । त्यस्तै, हर्ट फेलर हुने समस्या पनि देखिन सक्छ । मुटुले पम्प गर्न नसक्ने समस्या पनि हुन्छ । यो समस्याचाहिँ वंशानुगत पनि हुन्छ । कतिपय अवस्थामा भल्ब फुलेर पनि हर्ट फेलर हुन्छ । मुटुको रगत सञ्चार गर्ने नसाहरू साँघुरो भएर मुटुलाई आवश्यक रगत नपुग्दा हर्ट फेलर हुन सक्छ ।
4. मुटुलाई रक्तसञ्चार गर्ने नलीहरूमा कुनै पनि कारण अवरोध आएको खण्डमा मुटुको कुनै पनि भागको मांसपेशीको मृत्यु हुन पनि सक्छ ।
5. कतिपयलाई उमेर बढ्दै गएपछि मुटुका नसाहरू जाम हुँदै जाने पनि हुन्छ । यसलाई हृदयाघात वा हर्टअट्याक भनिन्छ । यस्तो वेलामा छाती दुख्ने, पसिना आउने, रगतको मात्रा कम हुने, छाती भारी हुन सक्छ । कुनै लक्षणविना नै एक्कासि हृदयाघात पनि हुन सक्छ । प्यारालाइसिस पनि हुन सक्छ ।
6. वयस्क व्यक्तिमा धूम्रपान, मद्यपान गर्न शारीरिक व्यायाम नगर्ने, मोटोपना भएका व्यक्ति अत्यधिक मात्रामा कार्बोहाइड्रेट खाने, गुलियो, बोसोजन्य, मासुजन्य खाना धेरै खाने मान्छेमा मुटुरोग हुने जोखिम धेरै रहन्छ ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।