मनहरी ६ का युवायुवतीलाई कम्प्युटर तालिम, स्वरोजगार बनाउने वडाको लक्ष्य

  • हजुरको खवर
  • बिहीबार, माघ २४ २०८१ प्रकाशित

मकवानपुर ÷ मनहरी गाउँपालिका—६ मा ‘सीप सिकौं आत्मनिर्भर बनौं’भन्ने नारासहित आधारभूत कम्प्युटर तालिम सफलतापूर्वक सम्पन्न भएको छ । नमुना सामुदायिक विकास समिति मकवानपुरको आयोजना तथा मनहरी गाउँपालिका वडा नम्बर ६ वडा कार्यालय र सुनाचुरी सामुदायिक वन उपभोक्ता समितिको आर्थिक सहयोगमा यो तालिम सञ्चालन गरिएको थियो । माघ २ गतेदेखि संचालित तालिमको समापन समारोहमा प्रमुख अतिथि तथा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले कम्प्युटर र प्रविधि आधुनिक जीवनको अभिन्न अंग भएको बताउँदै कम्प्युटर तालिम आजको युगको आवश्यकता भएको बताउनु भयो । उहाँले यसले व्यक्तिलाइ व्यावसायिक रूपमा दक्ष बनाउनुको साथै व्यक्तिगत जीवनमा समेत ठूलो सकारात्मक प्रभाव पार्ने बताउनु भयो । प्रत्येक व्यक्तिले कम्प्युटर तालिम लिएर आफ्नो ज्ञान र दक्षता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुपर्छ,उहाँले भन्नुभयो,‘ समूहगत रूपमा आउने सहभागीहरूलाई कम्प्युटर र आर्थिक सहयोग गर्न गाउँपालिका तयार छ ।’ मनहरी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष युवराज थपलियाले युवा सीप विकास वडाको पहिलो प्राथमिकता रहेको जनाउँदै सहभागीहरूलाई सिकेको सीपलाई व्यवसायिक क्षेत्रमा उपयोग गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘कम्प्युटर सीप सिकेर भविष्यमा व्यावसायिक बन्नुका साथै आयआर्जनमा जुट्ने, युवाहरूमा हुटहुटी पनि छ। यस तालिमले जीवनमा सुधार ल्याउने आशा छ।’गुडविल कम्प्युटरका प्रशिक्षकद्वय सुभाष लामा ‘सजल’ र देवेन्द्र दुलालले तालिमको सहजीकरण गरेका थिए । प्रशिक्षक लामाले उत्कृष्ट सहभागीहरूलाई रोजगारीको अवसर प्रदान गर्न तयार रहेको बताउनुभयो। सहभागी विपुल तामाङले ग्रामीण क्षेत्रमा यस्तो तालिम सञ्चालन गरेकोमा वडा कार्यालयलाई धन्यवाद दिँदै सिकेको सीपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रम संयोजक सन्देश थिङको अध्यक्षतामा सम्पन्न समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिनुका साथै प्रशिक्षकहरूलाई मायाको चिनो प्रदान गरियो थियो । नमुना सामुदायिक विकास समितिका सामाजिक परिचालक रूपक कालिराजका अनुसार सहभागीहरूको तीव्र सिकाइ इच्छा र उत्साहले कार्यक्रमलाई सफल बनाएको छ। समितिले विभिन्न जिल्लाहरूमा यस्ता तालिमहरू सञ्चालन गर्दै आएको र मनहरीका सहभागीहरूको उत्साहले थप प्रेरणा मिलेको उहाँले बताउनुभयो। समापन समारोहमा गाउँपालिकाका कार्यपालिका सदस्य,वडा सदस्यहरु, शिक्षक, समाजसेवी र स्थानीय बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो। यस तालिमले स्थानीय समुदायलाई प्रविधिमा दक्ष बनाउँदै आत्मनिर्भरतातर्फ अग्रसर गराउने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।