मनहरी-६ का महिलाहरूलाई उद्यमशीलतामा जोड्न बारिष्टा (कफी मेकर) तालिम

  • रुपक कालिराज
  • बिहीबार, माघ २४ २०८१ प्रकाशित

मकवानपुर / मनहरी गाउँपालिका–६ मा नमुना सामुदायिक विकास समिति मकवानपुरको आयोजनामा र मनहरी गाउँपालिका वडा नम्बर ६ वडा कार्यालय तथा सुनाचुरी सामुदायिक वन उपभोक्ता समितिको आर्थिक सहयोगमा १५ दिने बारिष्टा (कफी मेकर) तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिमको समापन समारोह मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतिको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।कार्यक्रममा बोल्दै अध्यक्ष कालाखेतिले कफी पिउने व्यक्तिहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको भन्दै यस क्षेत्रमा व्यावसायिक सम्भावना रहेको धारणा व्यक्त गर्नुभयो। तालिमको महत्वलाई जोड दिँदै उहाँले भन्नुभयो, ‘तालिम लिएर व्यवहारमा लागू गर्न नसक्दा लगानी खेर जान्छ।’ साथै, गाउँपालिकाले समूह बनाएर आउनेलाई विभिन्न प्रकारका तालिम र आवश्यक सहयोग प्रदान गर्न तयार रहेको बताउनुभयो। उहाँले यो तालिमले व्यक्तिगत फाइदा पनि दिने भन्दै आफ्नै घरमा कफी तयार गरेर खानुका साथै व्यवसाय सञ्चालन गर्ने अवसरसमेत उपलब्ध गराउने हुनाले नयाँ काम सुरु गर्न हौसला प्रकट गर्नुभयो।त्यसैगरी वडा नम्बर ६ का वडा अध्यक्ष युवराज थपलियाले तालिमका लागि युवायूवती धेरैले फारम भरेको भए पनि छनोट प्रक्रियाबाट महिलाहरुलार्ई मात्रै सहभागी गराई तालिम संचालन गरेको बताउनु भयो । उहाँले महिलाहरूलाई स्वरोजगारमूलक र उद्यमशीलतासँग जोड्न यस्तो तालिम आवश्यक रहेकोले संचालन गरेको बताउनु भयो । उहाँ भन्नुभयो,‘यो तालिमले उनीहरूलाई आत्मनिर्भर बन्न सहयोग पुग्नेछ। आउँदा दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।’सुनाचुरी सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष पार्वती मोक्तानले तालिमबाट प्राप्त सीपलाई व्यवसायिक क्षेत्रमा प्रयोग गर्न सहभागीहरूलाई प्रेरित गर्नुभयो। उहाँले वडा कार्यालयसँग सहकार्य गर्दै काम गर्ने अवसर पाएको उल्लेख गर्दै अब महिलाहरूले नयाँ काम गर्दै समाजमा स्थापित हुनुपर्ने समय आएको बताउनुभयो। उहाँले भन्नुभयो,‘यो तालिमले धेरै महिलाहरूको आत्मबल बढाएको हुनुपर्छ। अरूको भर नपरी आफ्नै खुट्टामा उभिन सकून् भन्ने उद्देश्यले हामीले पनि यस तालिममा योगदान गरेका हौं।’तालिमको प्रशिक्षण मेघा इन्स्टिच्युट अफ होटल म्यानेजमेन्टका शिक्षक सुवास न्यौपानेले दिनुभएको थियो। उहाँले १५ दिनसम्म सञ्चालन भएको तालिममा सहभागीहरूको उत्साह र सक्रियता प्रशंसनीय रहेको बताउँदै भन्नुभयो,‘यहाँका सहभागीहरूको तीव्र सिक्ने इच्छाले तालिमलाई प्रभावकारी बनाएको छ।’तालिममा ६० जना महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नमुना सामुदायिक विकास समितिका सामाजिक परिचालक रूपक कालिराजले तालिमले आत्मनिर्भर बन्ने मार्ग खोल्ने विश्वास व्यक्त गर्दै सिक्ने चाहनालाई निरन्तर कायम राख्न आग्रह गर्नुभयो। उहाँले सहभागीहरूको उज्ज्वल भविष्यको कामना गर्दै रोजगारमूलक अवसरहरूको खोजीमा समितिले निरन्तर काम गरिरहेको जानकारी दिनुभयो। 
तालिममा सहभागी पूजा मोक्तानले धेरै नयाँ कुरा सिक्ने अवसर पाएको बताउँदै अब व्यावसायिक क्षेत्रमा केही नयाँ गर्ने योजना बनाएको जानकारी दिनुभयो। अर्का प्रशिक्षार्थी मिना पर्जाले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाउनुभयो।समापन समारोहमा मनहरी गाउँपालिकाका अध्यक्ष कालाखेतिले तालिममा सहभागी सबैलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो। प्रशिक्षकहरु त्था आर्थिक सहयोगीदाताहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । कार्यक्रम सामुदायिक विकास समितिका कार्यक्रम संयोजक सन्देश थिङको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न वडा सदस्यहरू, सामाजिक अगुवाहरू र स्थानीय बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो। यो सफल तालिमले स्थानीय समुदायलाई उद्यमशीलता र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।