मनहरी २ मा सोनाम ल्होछार विशेष सेलो नृत्य प्रतियोगिता हुने

  • हजुरको खवर
  • शुक्रबार​, माघ २५ २०८१ प्रकाशित

मनहरी / सोनाम ल्होछारको अवसरमा मकवानपुरको मनहरी गाउँपालिका वडा नं. २ ठाडोखोलास्थित त्रिरत्न प्राविको प्राङ्गणमा तामाङ समुदायको मौलिक सांस्कृतिक कार्यक्रम सम्पन्न हुने भएको छ। कार्यक्रमको विशेष आकर्षण तामाङ सेलो नृत्य प्रतियोगिता हुनेछ। आयोजक चन्द्रबहादुर स्याङतानका अनुसार नृत्य प्रतियोगितामा समूहगत प्रस्तुति रहनेछ। प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने समूहलाई क्रमशः रु १०,०००, रु ७,००० र रु ४,००० नगद पुरस्कार प्रदान गरिनेछ।

कार्यक्रममा चर्चित कलाकार विश्व दोङ, जितु लोप्चन, धिरेन लामा लगायतका कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ। सांस्कृतिक कार्यक्रममा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम पनि गरिनेछ। साथै तामाङ समुदायका विज्ञहरूले संस्कृति तथा परम्परासम्बन्धी जानकारी प्रदान गर्ने जनाइएको छ।

मनहरी २ का वडा अध्यक्ष राजकुमार पाख्रीनका अनुसार तामाङ मौलिक भेषभूषासहितको सांस्कृतिक प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण हुनेछ। कार्यक्रम खेलकुद विकास समिति मनहरी २ को आयोजनामा हुनेछ भने मुख्य सहयोगी मनहरी गाउँपालिका रहेको छ। प्रतियोगिताका मुख्य प्रायोजक आरिराङ कोरियन भाषा तालिम तथा कन्सल्टेन्सी प्रालि रहेको छ।

आयोजकका अनुसार कार्यक्रमको अवलोकन गर्न हजारौँ दर्शकहरू आउने अनुमान गरिएको छ। कार्यक्रम सञ्चालनका लागि झण्डै रु ५ लाख खर्च हुने अपेक्षा गरिएको छ। यस सांस्कृतिक कार्यक्रमले स्थानीय कला र संस्कृतिलाई जगेर्ना गर्दै सामुदायिक एकता बलियो बनाउन योगदान दिने विश्वास गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।