मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका-२ ठाडोखोलास्थित त्रिरत्न प्राविको प्राङ्गणमा सोनाम ल्होछारको अवसरमा सांस्कृतिक कार्यक्रम हुने भएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले मञ्जुश्री सम्वत २८६१ डुल ल्हो (सर्प वर्ग) सोनाम ल्होछारको अवसरमा आगामी २ फागुन २०८१ मा कार्यक्रम आयोजना गरिने जानकारी गराएको हो।
कार्यक्रममा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम आयोजना गरिनुका साथै तामाङ संस्कृतिबारे विज्ञद्वारा जानकारी दिने व्यवस्था मिलाइएको छ। तामाङ समुदायको मौलिक भेषभूषा र प्रस्तुति सहित विविध सांस्कृतिक कार्यक्रम पनि हुने मनहरी-२ का अध्यक्ष राजकुमार पाख्रीनले जानकारी दिए।
साँस्कृतिक कार्यक्रममा चर्चित कलाकार विश्व दोङ, जितु लोप्चन र धिरेन लामालगायतका कलाकारहरूको प्रस्तुति रहनेछ।
कार्यक्रम खेलकुद विकास समिति मनहरी-२ को आयोजना, मुख्य सहयोगी मनहरी गाउँपालिका तथा संरक्षक एवं सहयोगी मनहरी-२ रहेको आयोजकले जनाएको छ। ल्होछार कार्यक्रमको अवलोकनका लागि हजारौँ मानिस आउने अपेक्षा गरिएको छ भने करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
पत्रकार सम्मेलन कार्यक्रम संयोजक सन्देश थिङको अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा माओवादी केन्द्र मनहरी-२ का इन्चार्ज चन्द्रबहादुर स्याङ्तान, खेलकुद विकास समिति मनहरी-२ का अध्यक्ष तथा वडा सदस्य शुक्राम मोक्तान, वडा सचिव साजन लामा, एमाले मनहरी-२ का अध्यक्ष इन्द्रदेव वाइबा, त्रिरत्न प्राविका अध्यक्ष तथा नेकपा मनहरीका इन्चार्ज गुणासिङ रुम्बा, च्यापल टोल विकास संस्थाका अध्यक्ष शान्तकुमार थिङलगायतको उपस्थिति रहेको थियो।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।