भूकम्प पीडितलाई भेट्न जाजरकोट र रुकुम पश्चिम जाँदै ओली

  • हजुरको खवर
  • मङ्गलबार, मङ्सिर १९ २०८० प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरूलाई भेट्न जाँदैछन् । जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर आफन्त गुमाए र घरबार गुमाएका पीडितहरूलाई भेट्न एमाले अध्यक्ष ओली आज यसतर्फ गएका हुन् ।

यही मंसिर १४ गते बैतडी जिल्लाको झुलाघाटबाट शुरु भएको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’को छैटौँ दिन एमाले अध्यक्ष ओली नेतृत्वको टोली आज जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरूसँग भेट्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सदस्य निरज आचार्यले दिए ।

आचार्यका अनुसार जाजरकोट पुगेर अध्यक्ष ओलीले भूकम्प पीडितहरूसँग अन्तरक्रिया गर्ने, भूकम्प प्रभावित क्षेत्रमा एमालेले खटाएको स्वयम् सेवक टोलीको कामका बारेमा जानकारी लिने र पुनः निर्माणका बारेमा सरोकारवालासँग अध्यक्ष ओलीले छलफल गर्ने कार्यक्रम अपराह्न भेरी नगरपालिका १ रिम्नामा तय गरिएको छ ।

एमालेले कात्तिक १ गते देखि भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्न ११ सय स्वयंसेवक परिचालन गरिरहेको छ । राती गएको उक्त भूकम्पमा परेर जाजरकोटमा मात्रै १०१ जनाले ज्यान गुमाएका थिए भने ९४ जना सिकिस्त घाइते भएका थिए ।

९ हजार ७ सय ९४ घर पूर्ण रुपमा क्षति गरेको भूकम्पले २४ हजार ७ सय ७ घर आंशिक क्षति हुँदा जिल्लाका ९ हजार ६ सय ८१ परिवार विस्थापित भएका छन् ।नेपाल प्रेसबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।