बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) को परियोजना कार्यान्वयन सूचीमा हेटौंडा-काठमाडौं ४२ कि.मि. लामो पोडवे समावेश गरिएको छ। सत्तारुढ दल एमालेका मुख्य सचेतक तथा सांसद महेश वर्तौलाले केही समयअघि संसदमा हेटौंडा-काठमाडौं सार्वजनिक यातायातको लागि पोडवे संचालनको माग गरेका थिए।
यो योजना १९८२ सालमा संचालन गरिएको हेटौंडाको चौकिटोलदेखि काठमाडौंको टेकु भन्सारसम्म जोड्ने पुरानो रोपवेको स्थानमा निर्माण गरिनेछ। भिमफेदी-कुलेखानी क्षेत्रमा अहिले पनि देख्न सकिने पुरानो रोपवे अहिले जिर्ण अवस्थामा रहेको छ। सांसद वर्तौलाले यसलाई आधुनिक पोडवेमा रूपान्तरण गरी सुरक्षित र छिटो यातायातको साधन बनाउन प्रस्ताव अघि सारेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको चीन भ्रमणका क्रममा बिआरआई परियोजना कार्यान्वयनका लागि यस पोडवेलाई पनि सूचीमा समावेश गरिएको छ। भ्रमणअघि नै मन्त्रीपरिषद्ले परियोजना प्रस्तावलाई अनुमोदन गरेको थियो। यो परियोजना कार्यान्वयनमा आएमा हेटौंडा-काठमाडौं बीचको जोखिमपूर्ण तीन घण्टाको यात्रा आधा घण्टामा सीमित हुने अनुमान गरिएको छ।
पोडवे सञ्चालनले काठमाडौंसँग हेटौंडा र आसपासका जिल्ला मात्र होइन, छिमेकी भारतसँगको पहुँच पनि थप सहज बनाउने विश्वास गरिएको छ। अहिले हेटौंडाबाट काठमाडौं जान नारायणघाट-मुग्लिन मार्ग हुँदै यात्रा गर्नुपर्ने बाध्यता रहेकाले पोडवेले यातायातमा क्रान्तिकारी सुधार ल्याउने अपेक्षा छ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।