फोहोर डम्पिङ्ग साईडको दीर्घकालीन समस्या समाधानको माग गर्दै संघर्ष समितिद्वारा अल्टिमेटम

  • हजुरको खवर
  • सोमबार, माघ २१ २०८१ प्रकाशित

मकवानपुर / हेटौंडा उपमहानगरपालिकाको राप्ती तट भूटनदेवी सामुदायिक वन क्षेत्रस्थित फोहर डम्पिङ्ग साईडमा माघ ११ गते राति भएको आगलागीका कारण हेटौंडा बजार क्षेत्र र आसपासका बस्तीहरूमा गम्भीर वायु प्रदूषणको समस्या देखिएको छ। यसले विशेष गरी हेटौंडा-१० न्यूरेनी, भूटनदेवी, हेटौंडा-१ चाइनाक्वाटर, सिमलटार, गोल्फिङटार, थानाभऱ्याङ्ग, नवलपुर, बनस्खण्डी, तथा धार्मिक क्षेत्रहरू जस्तै कुश्माण्डव सरोवर र गोरक्षश्वर क्षेत्रमा प्रत्यक्ष असर परेको छ।  

डम्पिङ्ग साईड दीर्घकालीन समस्या समाधान संघर्ष समितिले हेटौंडा उपमहानगरपालिकालाई ३५ दिनभित्र समस्या समाधानका लागि अल्टिमेटम दिएको छ। समितिका संयोजक सोम बहादुर लामाका अनुसार, यदि तोकिएको समयमा समस्या समाधान नभए फोहर व्यवस्थापन गाडीहरूलाई रोक्ने र डम्पिङ्ग साईडमा फोहर फाल्न अवरोध गर्ने चेतावनीसमेत दिएका छन्। आगलागीका कारण वायुमण्डलमा प्लास्टिकजन्य विषालु ग्याँसहरू फैलिएको र यसले स-साना बालबालिका, दीर्घरोगी, वृद्धवृद्धा लगायत आम नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको समितिको भनाइ छ। दुई दिनसम्म पनि प्लास्टिक जल्ने गन्ध कायम रहनु, आँखा पिरो हुने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुनेजस्ता समस्याहरू देखा परेको जनाइएको छ।  समितिले यो समस्या कुनै नयाँ नभई विगत ४–५ वर्षदेखि दोहोरिरहेकाले दीर्घकालीन समाधानको माग गर्दै आएको जनाएको छ। डम्पिङ्ग साईडले राप्ती नदीलाई प्रदूषित गर्दै जलचर तथा वन्यजन्तुको आवास स्थानमा असर पारिरहेको र सो क्षेत्रलाई सहरी वन तथा पर्यापर्यटन विकासको सम्भावना भएको क्षेत्रका रूपमा संरक्षण गर्नुपर्ने समितिको धारणा छ। समितिले जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, उपमहानगरपालिकाका सबै वडा कार्यालयहरू र जिल्लाका प्रमुख राजनीतिक दलहरूलाई समेत यस विषयमा जानकारी गराइएको छ। संघर्ष समितिले सबै सरोकारवाला निकायहरूसँग सहयोगको अपेक्षा राखेको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।