मोबाइलका फिचर तथा अपरेटिङ सिस्टम हरेक वर्षजसो परिष्कृत भएर बजारमा आइरहेको हुन्छ । यदि तपाईं पुरानो एन्ड्रोइड फोन चलाइरहनु भएको छ, फोन एकदमै स्लो छ भने नयाँ फोन खरिद गर्ने सोच बनाउँदै हुनुहुन्छ होला ।
तर केही उपाय अपनाउँदा तपाईंले पुरानै फोनलाई आनन्दले चलाउन सक्नुहुन्छ । आज हामी त्यस्ता पुराना एन्ड्रोइड फोनलाई ‘स्पीड अप’ कसरी गर्ने भन्ने विषयमा जानकारी दिँदै छौं ।
१) सफ्टवेयर अपडेट गर्नुहोस्
सामान्यत: फोन अपडेट गरिरहँदा यसले तपाईंको फोनको पर्फर्मेन्स बढाउन र फोनलाई अझ सुरक्षित बनाउन सहयोग गर्छ । साथै नयाँ अपडेटहरूले तपाईंको फोनमा भएका बगहरू पनि समाधान (फिक्स्ड) गर्छ ।
यसरी समय समयमा अपडेट गरिरहँदा तपाईंको फोनको स्पिड बढ्छ र नयाँ उपलब्ध फिचरहरू पनि प्रयोग गर्न सक्नुहुन्छ ।
यसका लागि मोबाइलको ‘सेटिङ’ मा जानुहोस् र त्यहाँ भएको ‘सिस्टम अपडेट’ अप्सनमा ट्याप गर्नुहोस् ।
त्यहाँ तपाईंले अन्तिम पटक फोन अपडेट गरेकाे जानकारी सहित नयाँ अपडेटको विवरण उपलब्ध हुन्छ । यसपछि ‘अपडेट’ डाउनलोड गरी ‘इन्स्टल’ गरेर आफ्नो फोनको ‘सफ्टवेयर अपडेट’ गर्न सक्नुहुन्छ ।
२) स्लो भएका एपहरू अपडेट गर्नुहोस्
कहिलेकाहीँ केही एपहरू प्रयोग गर्दा एप स्लो भएर नचलेको अथवा ल्याग भएको अनुभव गर्नु भएको होला । यसले गर्दा तपाईंलाई फोन स्लो भएको जस्तो लाग्नसक्छ ।
समय समयमा एपमा आउने नयाँ अपडेट इन्स्टल गर्न पनि जरुरी हुन्छ । यसको लागि फाेनकाे प्ले स्टोरमा गएर यस्ता एपहरू अपडेट गर्न सक्नुहुन्छ । एपहरू अपडेट गर्दा त्यसमा भएको कमजोरी पनि समाधान हुन्छन् भने फोन पनि फास्ट हुन थाल्छ ।
३) एनिमेसन डिसेबल गर्नुहोस्
धेरैजसो पुराना फोनले एन्ड्रोइडको एनिमेसनहरू सपोर्ट गर्न सक्दैनन् । यसैले त्यस्ता एनिमेसन डिसेबल गर्नु नै लाभदायक हुन्छ । यसका लागि ‘सेटिङ’ मा जानुहोस् र ‘डेभलपर अप्सन’ मा जानुहोस् ।
त्यसपछि अलिकति तल स्क्रोल गरेर विन्डो एनिमेसन स्केलमा गएर एनिमसेन अफ गर्नुहोस् । त्यस्तै ‘ट्रान्जिसन एनिमेसन स्केल’ र ‘एनिमेसन ड्युरेसन स्केल’ मा पनि ट्याप गरेर एनिमेसन ‘अफ’ गर्नुहोस् ।
त्यस्तै आफ्नो फोनको ‘सेटिङ’ मा जानुहोस् र ‘अबाउट फोन’ मा ट्याप गर्नुहोस् । त्यहाँ रहेको सफ्टवेयर इन्फरमेसन अप्सनमा ट्याप गर्नुहोस् र त्यहाँ देखिने ‘बिल्ड नम्बर’ अप्सनमा सात पटक ट्याप गर्नुहोस् । यसले तपाईंको फोनमा डेभलपर मोड अन गर्छ, जसले फोनको पर्फर्मेन्स सुधार्न मद्दत गर्छ ।
४) ब्याकग्राउन्डमा रन हुने एपहरू सीमित गर्नुहोस्
धेरैजसो एन्ड्रोइड फोनले ब्याकग्राउन्डमा चलिरहेको एपहरू स्वत: रोकिदिन्छन् जसले गर्दा तपाईंको फोनको पर्फर्मेन्समा खासै असर गर्दैन । यद्यपि अझैँ पनि तपाईंको फोन स्लो भइरहेको छ भने तपाईंले आफ्नो ब्याकग्राउन्डमा चल्ने एप सीमित गर्न सक्नुहुन्छ ।
यसका लागि आफ्नो ‘सेटिङ’ अन्तर्गत रहेको सिस्टममा गएर डेभलपर अप्सनमा जानुहोस् र ‘एप’ अप्सन अन्तर्गत रहेको ‘ब्याकग्राउन्ड लिमिट’ मा ट्याप गर्नुहोस् ।
त्यहाँ आफ्नो आवश्यकता अनुसार ब्याकग्राउन्ड प्रोसेस लिमिट सेट गर्न सकिन्छ । यसले तपाईंको फोनको स्पिड बढाउन मद्दत गर्छ ।
यद्यपि तपाईंले रोक्नुभएको एपलाई प्रत्येक पटक प्रयोग गर्नको लागि पुन: लन्च गर्नुपर्ने हुँदा भने तपाईंको ब्याट्री छिटो सकिन सक्छ ।
५) स्टोरेज स्पेस खाली गर्नुहोस्
कहिलेकाहीँ मोबाइलमा धेरै एप र धेरै डेटा हुँदा पनि मोबाइल स्लो हुनसक्छ । यसर्थ सामान्य रुपमा मोबाइलको स्टोरेज खाली गर्दा पनि तपाईंको फोनको पर्फर्मेन्स राम्रो हुनसक्छ ।
त्यसैले आफूलाई आवश्यक नभएका एपहरू अनइन्स्टल गर्नुहोस् । तपाईंले लामो समयदेखि प्रयोग नगरेका एप हेर्नका लागि मोबाइलको ‘सेटिङ’ मा जानुहोस् र ‘स्टोरेज’ मा ट्याप गर्नुहोस् ।
त्यहाँ ‘म्यानेज स्टोरेज’मा जानुहोस्, जहाँ धेरै प्रयोगमा आएका एप र कम प्रयोगमा आएको एपहरूको विवरण सहितको सूची देख्नुहुनेछ । यसरी छानेर आफूलाई आवश्यक नभएको एप ‘अनइन्स्टल’ गर्नुहोस् ।
६) फ्याक्ट्री रिसेट गर्नुहोस्
यदि माथि उल्लेखित उपायहरू अपनाउँदा पनि तपाईंको फोनको स्पिड बढेन भने तपाईं आफ्नो फोनको फ्याक्ट्री रिसेट गर्न सक्नुहुन्छ । यसले तपाईंको फोनमा भएका सम्पूर्ण डेटा डिलिट गरेर तपाईंको फोन नयाँ फोन जस्तै खाली बनाइदिन्छ ।
तर यसले फोनको स्पिड बढाउन मद्दत गर्छ । यसका लागि ‘सेटिङ’ मा गएर ‘सिस्टम’ मा जानुहोस् र त्यहाँ ‘एडभान्स’ अप्सनमा ट्याप गर्नुहोस् । त्यसपछि ‘इरेज अल डेटा’ अथवा ‘फ्याक्ट्रि रिसेट’ भन्ने अप्सनमा ट्याप गर्नुहोस् ।
बोनस टिप्स
फोनलाई स्तरीय बनाउन र ब्याट्री टिकाउ बनाउन तलका तरिका अपनाउनुहोस्:
अटो स्क्रिन ब्राइटनेस वा एडप्टिभ ब्राइटनेस अफ गर्नुहोस् वा ब्राइटनेस ५० प्रतिशतभन्दा कम राख्नुहोस्
तपाईंको फोनमा जति बढी ब्राइटनेस छ, त्यति नै ब्याट्री पावर खपत हुन्छ । तपाईंले शर्टकट मेनु तल सारेर वा सेटिङमा गएर अटो ब्राइटनेस अफ गर्न सक्नुहुन्छ । शर्टकट मेनुमा ब्राइटनेस अप्सन भेट्नु भएन भने सेटिङमा गई ‘ब्राइटनेस’ (Brightness) अप्सन सर्च गरेर पनि अटो ब्राइटनेस अफ गर्न सक्नुहुन्छ ।
एडप्टिभ ब्याट्री र ब्याट्री अप्टिमाइजेसन प्रयोग गर्नुहोस्
एडप्टिभ ब्याट्री र ब्याट्री अप्टिमाइजेसन फोनको यस्ता फिचर हुन् जसले तपाईंले फोन कसरी प्रयोग गर्नुहुन्छ भन्ने विश्लेषण गरेको हुन्छन् । विशेषगरी एडप्टिभ ब्याट्री फिचरले तपाईंले कुन समयमा कुन एप प्रयोग गर्नुहुन्छ भन्ने मूल्याङ्कन गरी त्यो समयमा कम ब्याट्री खपत गराउँछ । त्यस्तै ब्याट्री अप्टिमाइजेसनले पनि तपाईंले फोन प्रयोग गर्नै शैली बुझेर कुनै पनि एपले आवश्यक ब्याट्री खपत गराउँछ । जसले गर्दा ब्याट्री लामो समय टिक्छ ।
कतिपय फोनको सेटिङ एपमा नै डेडिकेटेड ब्याट्री सेटिङ हुन्छ । कतिपयमा भने उक्त सेटिङ गोप्य हुन्छ । तपाईंले सेटिङ एप खोली ‘ब्याट्री’ (Battery) को अप्सन सर्च गर्नुहोस् त त्यहाँ रहेको एडप्टिभ ब्याट्रीको अप्सन अन गर्नुहोस् ।
प्रायः डार्क मोडमा फोन प्रयोग गर्नुहोस्
ब्याट्री लाइफ सुधार गर्न र आँखाको सुरक्षाका लागि डार्क मोड प्रयोग गर्नुहोस् । एन्ड्रोइड फोनमा पहिले नै डार्क मोड दिएको हुन्छ । उक्त सेटिङ अन गर्नु भयो भने प्रायः एपका लागि छुट्टाछुट्टै डार्क मोड अन गरिरहनु पर्दैन । त्यस्तै एपमा पनि 'युज डिभाइस सेटिङ' को अप्सन छान्नुपर्ने हुन्छ ।
गुगलका अनुसार ह्वाइट ब्याकग्राउन्डभन्दा डार्क ब्याकग्राउन्ड प्रयोग गर्दा ब्याट्री लाइभमा सुधार हुन्छ । तपाईंले शर्टकट मेनुमा गएर वा सेटिङ एपमार्फत डार्क मोड इनेबल गर्न सक्नुहुन्छ ।
'डु नट डिस्टर्ब मोड' इनेबल गर्नुहोस्
राति निदाएको समयमा कसैले कल गर्यो वा मेसेज पठायो भने फोनमा बज्ने रिङटोनले निन्द्रा बिगार्छ । त्यसैलाई मध्यनजर गर्दै एन्ड्रोइड फाेनमा 'डु नट डिस्टर्ब मोड' उपलब्ध गराइन्छ ।
यस मोडले तपाईंले तोकेको समयमा फोनमा कुनै पनि किसिमको नोटिफिकेसन वा रिङटोन बज्न दिँदैन । डु नट डिस्टर्ब मोड अन गर्नका लागि तलको प्रक्रिया अपनाउनुहोस्:
- सबैभन्दा पहिले सेटिङमा जानुहोस् ।
- अनि साउन्डको अप्सनमा जानुहोस् ।
- त्यसपछि डु नट डिस्टर्बको अप्सनमा ट्याप गर्नुहोस् ।
- र, डु नट डिस्टर्ब मोड अन गर्नुहोस् ।
- अनि शेड्युलमा गएर आफूले चाहेको समय र बार छान्नुहोस् ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।