प्रेस चौतारी नेपाल मकवानपुरले मनायो २७ औं स्थापना दिवस

  • हजुरको खवर
  • मङ्गलबार, माघ २२ २०८१ प्रकाशित

मकवानपुर, प्रेस चौतारी नेपाल मकवानपुरले आफ्नो २७ औं स्थापना दिवस मंगलबार विशेष शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी मनाएको छ। कार्यक्रम प्रेस चौतारी नेपाल मकवानपुरकी अध्यक्ष सरिता दाहालको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

कार्यक्रमका प्रमुख अतिथि रानाले समाजलाई समृद्धितर्फ अग्रसर गराउन प्रेस चौतारीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले सामाजिक परिवेशको परिवर्तनसँगै नकारात्मक प्रवृत्तिहरू बढ्दै गइरहेका बेला प्रेसको कलमले समाजलाई सही दिशा दिनुपर्ने अपेक्षा व्यक्त गरे।

अध्यक्ष सरिता दाहालले हालै सम्पन्न अधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिले उत्साहका साथ संगठनलाई अझ सुदृढ बनाउँदै अघि बढाउने प्रतिबद्धता जनाइन्। उनले संगठनात्मक विकास र पत्रकारहरूको पेशागत हितमा ध्यान केन्द्रित गरिने उल्लेख गरिन्।

कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एकलाल श्रेष्ठले सञ्चारकर्मीहरूले समाजका पिछडिएका वर्गको आवाज उठाउँदै उनीहरूको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने धारणा राखे।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरले पत्रकारिता क्षेत्र मर्यादित र व्यावसायिक हुनुका साथै पत्रकारहरूको स्वतन्त्रता सुनिश्चित गर्न आवश्यक रहेको बताए। उनले संस्थागत विकासको आवश्यकता औंल्याउँदै पत्रकारिता क्षेत्रमा राजनीतिक प्रभाव चिन्ताको विषय भएको बताए।

स्वतन्त्र पत्रकार महासंघका केन्द्रीय महासचिव सुरेश श्रेष्ठले पत्रकारिता क्षेत्रमा राजनीतिक हस्तक्षेप बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे। उनले संस्थागत विकास अभावले पत्रकारहरूको अवस्था जटिल बन्दै गएको उल्लेख गरे।

नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारीले सञ्चार संस्थाहरूको विभाजनले पत्रकारहरूको हितमा नकारात्मक असर पारिरहेको बताउँदै श्रमजीवी पत्रकारहरूको मुद्दामा साझा धारणा बनाउनु आवश्यक रहेको बताए।

कार्यक्रममा प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास बिडारी, नेकपा एमाले मकवानपुर प्रचार विभाग प्रमुख उज्ज्वल चौलागाईं, स्वतन्त्र पत्रकार नेपाल मकवानपुरका अध्यक्ष गोकुल अधिकारी, नेकपा एमाले मकवानपुरकी सहसचिव आरती पाठक लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।