प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। चिसोका कारण स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको सल्लाहअनुसार ओलीले पूर्वनिर्धारित सबै काम ‘भर्चुअल’ माध्ययमबाट गर्ने भएका छन्।
सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले आज बिहान ११:१५ बजे पाल्पाको बगनासकाली गाउँपालिकाको भवन उद्घाटन, दिउँसो १२:१५ बजे तिनाउ गाउँपालिकाको दोभानमा नवनिर्मित प्रशासकीय भवन उद्घाटन र दिउँसो १२:५० बजे सिद्धार्थ राजमार्गको सिद्धबावामा निर्मित सुरूङ मार्गको ब्रेकथ्रु र दिउँसो १:१५ बजे बुटवल-गोरुसिंगे सडक स्तरोन्नति शिलान्यास गर्ने कार्यक्रम छ।
अस्वस्थ भएपछि उनी आज कतै पनि नजाने भएका हुन्। उनले सुरुङमार्गको उद्घाटन तथा अन्य काम भर्चुअलरुपमा गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले बताए।
‘धेरैं दौडधुप नगर्न चिकीत्सकको सल्लाह छ। त्यसैले प्रधानमन्त्री ज्यू उता (उद्घाटन)मा नजाने हुनुभएको हो। तर यहीँबाट भर्चुअलरुपमा भने केही समयपछि उद्घाटन गर्नुहुनेछ,’ उनले भने।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ।
सोही उद्घाटनका कार्यक्रमका लागि प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाललगायत उपस्थित हुने कार्यक्रम तय भएको थियो।
पौडेल र दाहाल भने पुगिसकेका छन्। उनीहरूलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका हुन्।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।