परिसूचक नेप्सेमा एकल अंकको गिरावट 

  • हजुरको खवर
  • बिहीबार, आश्वीन ६ २०७९ प्रकाशित

साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको गिरावट भएको छ । १ असोजदेखि निक्षेपको ब्याजदर बढाउन बैंकर्स संघको निर्णयसँगै ३० भदौदेखि गिरावट सुरु भएको नेप्सेमा ५ भदौ बुधबार पाँचौ कारोबार दिनमा आएर सुधार भएको थियो ।तर, बिहीबार पुनः नेप्सेमा गिरावट भएको छ । ६ भदौ बिहीबार बजार परिसूचक नेप्से ९.८३ अंक (०.५३ प्रतिशत) ले गिरावट भएर १८३८.९६ अंकमा बन्द भएको छ । २९ भदौमा १९८१.४८ अंकमा बन्द भएको नेप्से निक्षेपको ब्याजदर बढ्ने बैंकर्स संघका निर्णयसँगै ३० भदौदेखि ४ असोजसम्म लगातार चार कारोबार दिनमा १४३.८८ अंकको गिरावट भएको थियो । तर, ५ भदौ बुधबार भने ११.२२ अंकले वृद्धि भएर १८४८.८२ अंकमा बन्द भएको नेप्सेमा साताको अन्तिम कारोबार दिन बिहीबार पुनः गिरावट भएको हो ।बिहीबार नेप्सेमा सबै उपसूचकमा गिरावट हुँदा सबैभन्दा कम बैंकिङ उपसूचक ०.०२ प्रतिशतले घटेको छ । यता वित्त कम्पनी उपसूचकमा सबैभन्दा धेरै १.५६ प्रतिशतले गिरावट हुँदा लघुवित्त उपसूचक पनि १.०४ प्रतिशतले घटेको छ ।नेप्सेसँगै कारोबार रकम पनि निरन्तर ओरालो लागेको छ । २६ भदौमा ७५ करोडमा सीमित भएको कारोबार रकम त्यसपछि बढेर यो साता आइतबार र मंगलबार १ अर्ब नाघेको थियो । तर, बुधबार ७२ करोडमा सीमित भएको कारोबार बिहीबार झनै ओरालो लागेर ६५ करोड ५७ लाखमा सीमित भएको छ ।बिहीबार नेप्सेमा नबिल बैंकको सर्वाधिक २ करोड ५९ लाखको कारोबार हुँदा बोटलर्स नेपाल तराईको २ करोड ४१ लाख र अपी पावरको १ करोड ६१ लाखको कारोबार भएको छ ।बिहीबार कारोबार अवधिभर नेप्सेमा १८५ कम्पनीको सेयर कारोबार भएकोमा १४३ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ३७ कम्पनीको बढेको छ । त्यस्तै ५ कम्पनीको भने स्थिर छ ।सामलिङ पावर कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्दा लक्ष्मी इक्विटी फण्डको इकाइ मूल्य ४.४२ प्रतिशतले बढेको छ । यता १० प्रतिशत ब्याजदरको प्रभु बैंक ऋणपत्र २०८४ को मूल्य ९.९३ प्रतिशतले घट्दा गरिमा ऋणपत्र २०८५ को मूल्य ९.९० प्रतिशतले घटेको छ । मुद्दती निक्षेपको ब्याजदर १२ प्रतिशत नाघेपछि ऋणपत्रको मूल्य लगातार घट्न लागेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।