काठमाडौं: नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लर्निङ म्यानेजमेन्ट सिस्टम (नेपाललाइफ पाठशाला) सार्वजनिक गरेको छ। आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले यस प्लेटफर्ममा लगइन गरी यसको अनावरण गरेका हुन्। यस प्रणालीमार्फत अब बीमा अभिकर्ताहरूले घरैबाट आफूलाई अनुकूल समयमै तालिम लिन सक्ने सुविधा पाउनेछन्। पराजुलीले यसले बीमाको प्रचारप्रसार तथा विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
उनले नेपालमा युवा जनसंख्या धेरै रहेको र यस जनशक्तिलाई उद्यमशीलतामा लगाउन सके देशको आर्थिक विकासमा टेवा पुग्ने विचार व्यक्त गरे। भूमण्डलीकरणको प्रभावले विश्वलाई डिजिटल माध्यममा समेटेको बताउँदै आर्थिक स्वतन्त्रता हासिल गर्न डिजिटल प्लेटफर्मको उपयोगमा जोड दिए।
नेपाल बीमा प्राधिकरणले निर्धारित पाठ्यक्रमका आधारमा बीमा अभिकर्ताहरूको लागि श्रव्य दृश्य सामग्रीको विकास गरी तालिम सुरु गरिएको र आगामी दिनमा कर्मचारीको सीप तथा ज्ञान विकासका लागि थप सामग्री उपलब्ध गराइने जानकारी दिए। साथै, भविष्यमा बीमाको महत्त्व र सम्पूर्ण जानकारी एउटै प्लेटफर्ममा उपलब्ध गराउने योजना रहेको पनि पराजुलीले बताए।
यसै अवसरमा कम्पनीले बीमाको नवीकरण शुल्क भुक्तानी र बीमा योजनाअन्तर्गत लिएको कर्जाको भुक्तानीका लागि डाइनामिक क्यूआरको प्रयोग गरी घरबाटै सहजै भुक्तानी गर्न सकिने व्यवस्था पनि ल्याएको छ।
कम्पनीका नायब महाप्रबन्धक उमापति पोखरेलले भौतिक उपस्थिति बिना अनलाइन तालिममार्फत बीमा अभिकर्ता बन्ने प्रक्रिया सहज भएको बताए। बीमा उद्योगमा प्रविधिमैत्री प्रणाली विकास गर्ने पहिलो कम्पनीको रूपमा नेपाललाइफ भएकोमा गर्व व्यक्त गर्दै यसबाट सम्पूर्ण नेपाललाइफ परिवार गौरवान्वित भएको उल्लेख गरे।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।