नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त

  • हजुरको खवर
  • बुधबार, आश्वीन १७ २०८० प्रकाशित

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पहाडीलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकेको हो ।

टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल भ्रष्टाचार मुद्दामा मुछिएसँगै मन्त्रीस्तरको निर्णयमा पहाडीलाई कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको हो । पहाडीले यसअघि कम्पनीको नायव प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् ।

उनले भारतको अलाहावाद युनिभर्सिटीबाट बी.ई. र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम।ई। गरेकी छिन् । उनले २०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थिइन् भने २०५१ फागुन १० गते स्थायी नियुक्ति लिएकी थिइन् । त्यस्तै २०७८ माघ १८ गते नायब प्रबन्ध निर्देशक पदमा नियुक्त भएकी थिइन् ।

बुधवार पदभार ग्रहण गर्दै नवनियुक्त निमित्त प्रबन्ध निर्देशक पहाडीले सबैको सहयोगको अपेक्षासहित कम्पनीको उत्तरोत्तर प्रगतिका लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।