काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्धलाई बौद्ध धर्मले एउटा चम्किलो धागोका रूपमा जोडेको बताएका छन्। नवौँ नानहाई बौद्ध सम्मेलनको काठमाडौँ फोरमलाई सम्बोधन गर्दै उनले दुई देशका सांस्कृतिक र आध्यात्मिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री ओलीले भने, “नेपाल र चीन केवल सीमाभन्दा परको सम्बन्धका प्रतिनिधि हुन्। हामी हाम्रो गौरवपूर्ण इतिहास, हिमालहरूको भव्य आलिंगन, जीवनदायी नदीहरूको प्रवाह, र समृद्ध संस्कृतिका बन्धनबाट एकअर्कासँग जोडिएका छौँ। इतिहासदेखि नै हाम्रो मित्रता गहिरो छ, र यो सम्मेलनले मैत्रीलाई थप गहिरो बनाउन सहयोग गर्नेछ।”
गौतम बुद्धको जन्मभूमि नेपालले बौद्ध सम्पदामा नेपालको विशेष स्थान रहेको चर्चा गर्दै उनले बौद्ध धर्मले नेपाल र चीनलाई सांस्कृतिक सम्पर्कको पुलको रूपमा सेवा गरेको बताए।
प्रधानमन्त्री ओलीले चिनियाँ भिक्षुहरू फा जियान र जुआन जाङको नेपाल भ्रमणदेखि नेपाली विद्वान बुद्धभाड्रको चीन यात्रा सम्मको ऐतिहासिक आदानप्रदानको स्मरण गरे। साथै, चीनमा रहेका नेपाली शैलीका बौद्ध मन्दिर र लुम्बिनीस्थित झोङ हुआ चिनियाँ बौद्ध मठ दिगो सम्बन्धका प्रतीक भएको बताए।
नेपालको लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको नानहाई बौद्ध एकेडेमीबीचको सहकार्यले ज्ञान र साझेदारीको भावना झल्काउने उनको भनाइ थियो। प्रधानमन्त्री ओलीले सम्मेलनले शान्ति, करुणा, र सहयोगका शाश्वत मूल्यहरूको प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिने विश्वास पनि व्यक्त गरे।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।