अहिले धेरैजसोले कामका लागि विन्डोज ११ प्रयोग गरिरहेका छन्, जुन विन्डोजको पछिल्लो संस्करण हो। दिनभर स्क्रिनमा नजर राखेर काम गर्नु आँखाको स्वास्थ्यका लागि चुनौतीपूर्ण हुन सक्छ। त्यसैले आँखालाई आराम दिने केही उपयोगी सेटिङ विन्डोज ११ मा उपलब्ध छन्। यहाँ तिनै सेटिङबारे जानकारी प्रस्तुत गरिएको छ:
1. ब्राइटनेस मिलाउने
आँखालाई सजिलो बनाउन ब्राइटनेस मिलाउनु महत्त्वपूर्ण छ। धेरैजसो उपकरणमा ब्राइटनेस स्वचालित रूपमा एडजस्ट हुन्छ, तर यदि यो सुविधाजनक नभएमा तपाईंले म्यानुअल रूपमा मिलाउन सक्नुहुन्छ। सेटिङमा गएर वा Windows + A थिचेर ब्राइटनेस समायोजन गर्न सक्नुहुन्छ। यसरी आफ्नो वातावरणको उज्यालो अनुसार ब्राइटनेस मिलाउँदा आँखामा दबाब कम हुन्छ।
2. क्रसरको आकार र रङ परिवर्तन गर्ने
स्क्रिनमा माउस क्रसर हराउनु हुँदैन, किनकि यसले समय खेर जान्छ। यसलाई ठूला आकार वा फरक रङ्गमा परिवर्तन गरेर सजिलै देख्न सकिन्छ। सेटिङमा गएर ‘एक्सेसिबिलिटी’ अन्तर्गत ‘माउस पोइन्टर एन्ड टच’मा क्लिक गरेर क्रसरको आकार र रङ्ग परिवर्तन गर्न सकिन्छ।
3. टेक्स्ट र आइकनको आकार बढाउने
सानाठूला टेक्स्ट र आइकनमा काम गर्दा लामो समय आँखा थाक्न सक्छ। सेटिङ हुँदै ‘सिस्टम’ अन्तर्गत ‘डिस्प्ले’मा क्लिक गरी, त्यहाँको ‘स्केल’ विकल्प प्रयोग गरी आइकन र टेक्स्टको आकार बढाउन सकिन्छ।
4. डार्क मोड प्रयोग गर्ने
आँखालाई आराम दिन डार्क मोड उपयोगी हुन्छ। विन्डोज ११ मा डिफल्ट लाइट मोड आउँछ, तर यसलाई सेटिङमा गएर ‘पर्सनलाइजेसन’ अन्तर्गत ‘कलर्स’बाट ‘चुज योर मोड’मा डार्क मोडमा परिवर्तन गर्न सकिन्छ। यसले आँखामा पर्ने उज्यालो कम गर्छ।
5. नाइट लाइट अन गर्ने
स्क्रिनबाट निस्कने ब्लु लाइटले आँखा थकाउने र निद्रामा असर गर्न सक्छ। ब्लु लाइट कम गर्नका लागि विन्डोज ११ मा नाइट लाइट फिचर उपलब्ध छ। सेटिङमा गएर ‘सिस्टम’ अन्तर्गत ‘डिस्प्ले’मा नाइट लाइट अन गरेर यसलाई आवश्यकता अनुसार समायोजन गर्न सकिन्छ।
6. कलर फिल्टर प्रयोग गर्ने
यो फिचर विशेषगरी कलर ब्लाइन्ड भएका व्यक्तिहरूका लागि उपयोगी छ। सेटिङमा गएर ‘एक्सेसिबिलिटी’ अन्तर्गत ‘कलर फिल्टर’मा क्लिक गरी विभिन्न फिल्टर मध्ये आफ्नो लागि उपयुक्त विकल्प छान्न सकिन्छ।
7. कन्ट्रास्ट थिम प्रयोग गर्ने
कन्ट्रास्ट बढाउन यस थिमले मद्दत गर्छ। यसले स्क्रिनमा देखिने विवरणहरू स्पष्ट बनाउँछ। सेटिङमा गएर ‘एक्सेसिबिलिटी’ अन्तर्गत ‘कन्ट्रास्ट थिम’मा क्लिक गरेर आफूलाई अनुकूल थिम छान्न सकिन्छ।
यी सेटिङले कामका क्रममा आँखालाई राहत दिन सक्छ र स्क्रिनमा ध्यान केन्द्रित गर्न सजिलो बनाउँछ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।