मनहरी ÷ नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–२ (ख) का उम्मेदवार लाल बहादुर थापाले सिमपानी,देउकोट,सरिखेत–आदमघाट जोड्ने सडकको स्तरिकरणमा पहिलो प्राथमिकता दिने बताउनु भयो । उहाँले देउकोटमा पुगेर मतदाताहरुसंग भेट्दै यस मोटरबाटोलाई स्तरिकरणमा मेरो पहिलो ध्यान जाने उद्घोष गर्नुभयो ।
उहाँले एमाले सरकार हुँदा शुरु गरेको यस बाटोलाई पुनःस्तरीकरण गर्न एमाले सरकार आउनुपर्नेमा जोड दिनुभयो । मतदाताहरुले थापालाई ‘हामीले धेरै चुनावमा आश्वासन पायौं अब हामीलाई विकास चाहियो’, भन्दै प्रश्न गरेका थिए । उमेरले ७० कटेकी बृद्धा सन्चमाया प्रजाले भनिन्‘ तिमी जस्तै विकासवादी नेता चाहिएको छ, तिमीलाई आर्शिवाद छ, जितेपछि गाउँको विकास गर्न नभुल्नु ।’ स्थानीयले जितेर गएपछि नेताहरू गाउँ नै नफर्किएको गुनासो गरिरहँदा थापाले भने,‘म यहि जन्मेको यहि ठाउँमा हुर्केको हुँ,पर्यटकीय उम्मेद्वार जस्तो भोट माग्न मात्रै आएको होइन,तपाईको सुखदुखमा सदैव साथ दिन आएको हुँ ।’
उहाँले रतुवा खोला,जिर्खे खोला,गोराङदी खोला पुल निमार्ण गरि जनतालाई सहज बनाउने योजना अघि समेत अघि सारेको उद्घोष गर्नुभयो । उहाँले खेलक्षेत्रलाई समेत विशेष प्राथमिकता साथ योजना अघि सार्नुभएको बताउनु भयो । राक्सिराङमा खेलाडिहरु उत्पादन गर्ने उद्देश्य अनुरुप बहुउद्देश्यीय कभर्डहल निमार्ण गरि एक विद्यालय,एक खेल शिक्षकको नितिगत व्यवस्था गर्न समेत विशेष पहल गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘देशलाई सुशासन र सामाजवादको यात्रा गराउने एक मात्र पार्र्टी एमाले नै हो त्यसैले पनि यस भेगका जनताले अमूल्य मत दिएर जिताउनुहुनेछ ।’ म यहि क्षेत्रमा जन्मेको हुर्केको व्यक्ति हुँ यस क्षेत्रको समस्या नजिकबाट बुझेको छु यहाँको विकासका लागि पहल गर्ने व्यक्तिको रुपमा मलाई यहाँका मतदाताहरुले चिनेका छन् उहाँले थप्नुभयो,‘मैले यस पटक यस क्षेत्रका केही विशेष अजेण्डाहरु निर्माण गरेको छु। त्यस कारणले पनि मलाई भोट हाल्नेछन् ।’
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।