सप्तरीमा एउटा बिहेमा डिजे बजाउने विषयमा भएको विवादमा एकजनाको मृत्यु भएको छ ।सोमबार भएको झडपमा घाइते भएका खडक नगरपालिका वडा नम्वर ४ पंसेराका २७ वर्षीय सन्तलाल पासवानको उपचारको क्रममा बुधवार बिहान मृत्यु भएको हो ।
रामचन्द्र पासवानको घरमा सोमबारराति जन्तीले ल्याएको डिजे बजाउने विषयमा चर्किएको विवाद झडपमा परिणत भएपछि एक समूहको कुटपिटबाट पासवान घाइते भएका थिए ।उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेज लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
युवकको मृत्यु भएपछि दोषीलाई कारबाहीको माग गर्दै स्थानीय बासिन्दाहरूले सप्तरीस्थित पूर्व(पश्चिम राजमार्गको कल्याणपुर–कडरबोना सडक अवरुद्ध पारेका छन् ।जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता काफ्लेले कुटपिटमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरी घटनाको बारेमा थप अनुसन्धान भइरहेको बताउँनुभयो ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।