छैठौँ बकैया कप फुटबल प्रतियोगिता सुरु

  • हजुरको खवर
  • बिहीबार, पौष २५ २०८१ प्रकाशित

मकवानपुर -मकवानपुरको बकैया गाउँपालिका-३ स्थित बकैया रंगशालामा छैठौँ संस्करणको बकैया कप फुटबल प्रतियोगिता बुधबारबाट सुरु भएको छ। प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले गरे।

उद्घाटन समारोहमा मन्त्री महर्जनले समग्र खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकारले पहल गरिरहेको बताए। आफू खेलकुद क्षेत्रकै व्यक्ति भएकाले खेलाडीको मर्म र भावना बुझ्न सकेको भन्दै सोहीअनुसार काम गर्ने प्रयास भइरहेको उनले उल्लेख गरे।

मन्त्री महर्जनले आफ्नो कार्यकालमा बजेट अभावका कारण खेल क्षेत्रको विकासमा अपेक्षित काम गर्न कठिनाइ भएको बताए। तर, आगामी वर्ष खेलाडीको हितलाई ध्यानमा राख्दै बजेट वृद्धि गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने व्यवस्था गरिएको र स्वयंसेवक प्रशिक्षक नियुक्ती प्रक्रिया पनि अघि बढाइएको जानकारी दिए।

प्रतियोगिताका विशेषता
यस वर्षको प्रतियोगितामा सिनियर र जुनियर टिमबीच अलग-अलग प्रतिस्पर्धा हुनेछ। बकैया खेलकुद विकास समितिका संयोजक विजय लामा थिङका अनुसार जुनियर टिमको विजेता टिम आगामी वर्ष सिनियर टिममा बढुवा हुनेछ भने सिनियर टिमको अन्तिम टिम घटुवा हुनेछ।

प्रतियोगिता नकआउट चरणमा सञ्चालन हुने र आगामी माघ १ गतेसम्म चल्ने आयोजकले जानकारी दिएको छ।

पुरस्कार विवरण

सिनियरतर्फ
विजेता टिम: १ लाख रुपैयाँ, शिल्ड, मेडल, प्रमाणपत्र
उपविजेता टिम: ५० हजार रुपैयाँ
जुनियरतर्फ
विजेता टिम: ५० हजार रुपैयाँ, शिल्ड, मेडल, प्रमाणपत्र
उपविजेता टिम: २५ हजार रुपैयाँ
बकैया कप मकवानपुर क्षेत्रको खेलकुद गतिविधि प्रवर्द्धन गर्न महत्त्वपूर्ण मानिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।