कृषिमा नयाँपन - मकवानपुरगढिमा व्यवसायीक सिस्नु खेती

  • हजुरको खवर
  • बुधबार, भाद्र ३१ २०७७ प्रकाशित

हेटौंडा ÷ मकवानपुर जिल्लाको मकवानपुरगढि गाँउपालिकामा व्यवसायिक रुपमा सिस्नु खेती सुरु गरिएको छ । गढी गाँउपालिका वडा नम्बर ७ सुकौराका किसानहरुले व्यवसायीक सिस्नु खेती गर्न सुरु गरेका हुन् । सिस्नु खेती गर्नको लागी गाँउपालिकाको ७ नम्बर वडाले गत आर्थिक बर्षमा १ लाख रुपैंया अनुदान उपलब्ध गराएको वडा कार्यालयले जनाएको छ । साथै सिस्नुको पाउडर बनाउनको लागी आवश्यक मेसिन पनि उपलब्ध गराइएको उक्त गाउँपालिकाको कृषि प्राविधिक चन्द्रकान्त चौधरीले बताउनु भयो । 


सुकौराका ७ जना किसान समुहले सिस्नु खेती गर्न सुरुवात गरेका छन् । दिल बहादुर गोले, फुलमाया मोक्तान, जिल्लाबहादुर थिङ, बुद्धलक्ष्मि थिङ, शुभबहादुर स्याङ्तान, जुदेमाया लोे र मानबहादुर मोक्क्तान ले सामुहिक सिस्नु खेती गर्न थालेका हुन् । सुकौराको १० कठ्ठा बाँझोमा सिस्नु खेती गरिएको उक्त किसान समुहका मानबहादुर मोक्क्तानले बताउनु भयो । उहाँले भने ः गाँउपालिकाको सहयोगकै कारण हामीले सिस्नु रोपेका हौं । आउने हेर्ने र सिकाउने पनि कृषि प्राविधिकले नै गरिरहेका हुन्छन् । अहिले सानो बोटहरु छन् । यो बर्ष चाँही बेच्न मिल्दैन तर अर्को सालबाट भने आम्दानी हुन थाल्छ । हरियो पात भन्दा पनि सुकाएर पाउडरमा उपलब्ध गराएर बेच्ने तरिका ले खेती गरिएको उनको भनाइ छ । 


सिस्नोलाई लिएर अनेक तर्क र बितर्क पाइन्छ । यो कुनामा पारिएको वनस्पति हो । पहिले सिस्नु शब्द सुन्नसाथ दुःख र गरिबीसँग मजाक उडाउने बिषयको तरकारीको रुपमा हेरिन्थ्यो । तर जब रोग लाग्छ अनिमात्र यसको महत्व थाहा पाइन्छ । अहिले पछिल्लो समय सिस्नु धेरै रोगहरुको अचुक औषधीको हो भन्ने थाहा पाए पछि सबैको लोकप्रिय बनेको छ ।


सिस्नुमा क्याल्सियम, प्रोटिन, भिटामिन सी, फ्याट, कार्बोेहाइड्रेट, फाइवर, फस्फोरस र आइरनजस्ता तत्व पाइन्छ । यही तथ्य बुझेर होला पछिल्लो समय सिस्नुले धनीहरूको भान्सामा पनि पर्न थालेको छ । साना रेष्टुराँ देखि पाँचतारे होटलसम्म यसका परिकार अहिले बन्ने गर्छन् ।विभिन्न रोगका बिरामीहरुले प्रयोग गर्दा शरिरमा फाइदा हुन्छ भन्ने कुरा थाहा पाए पछि सिस्नु खेती गर्न हौषला जागेको उक्त कृषक समुहका फुलमाया मोक्क्तनले बताइन् । किसान मानबहादुर मोक्तानले किसान समूहसँग मिलेर सिस्नु पिस्ने मेसिन खरिद गरेको बताउँदै सिस्नुको धूलो बिक्रीमा गाउँपालिकाले सहयोग गर्ने जानकारी दिए ।
यस्ता छन् सिस्नुका फाइदा 
मानव स्वास्थ्यका लागि स्वास्थ्यवद्र्धक सिस्नु ग्याष्ट्रिक, कब्जियत, पायल्स, मधुमेह, उच्च रक्तचाप, जुका र युरिक एसिडलगायतका लागि औषधि हुने गरेको स्वास्थ्यकर्मीहरूको भनाइ छ । विशेषगरी सिस्नु उच्च रक्तचाप, मधुमेह रोग भएका बिरामीका लागि उपयोगी मानिन्छ। यसका अलावा मानिस र पशुहरूको हात खुट्टा भाँचिएको बेला पनि सिस्नु प्रयोग गर्ने गरिन्छ ।  भिटामिन पाइने अन्य तत्वहरू भन्दा सिस्नुमा सबैभन्दा बढी भिटामिन पाइने चिकित्सकको भनाइ छ । सिस्नुको नियमित प्रयोगबाट मिर्गौलाको समस्या, पिसाब पोल्ने, दम, बाथ रोगलाई फाइदा हुन्छ । रगत उत्पादन गर्ने, रगतमा हेमोग्लोबिनको मात्रा बढाउने काम पनि सिस्नुले गर्ने स्वास्थ्य विज्ञहरुले बताउने गरेका छन्  महिनावारी अनियमित हुने स्त्री रोग, खाना नरुच्ने, मधुमेह, उच्च रक्तचाप, जण्डिस, प्यारालाइसिस, पत्थरी, अल्सर, मुत्र रोगी, रक्तअल्पता, नपुंसकता, बाँझोपन भएका बिरामीलाई पनि सिस्नु उपयोगी मानिन्छ ।

त्यसैगरी पुरुषको शुक्रकिट उत्पादन, भाँचिएको र मर्केका हाडहरूलाई जोड्न, आँखालाई तेजिलो र अनुहारलाई चम्किलो, शरीरलाई फुर्तिलो, छरितो र आकर्षक बनाउन, ढाड दुख्ने, घुँडा र जोर्नी दुखेको, झस्को पसेको, सर्को पसेर सोला हान्ने जस्ता रोग निको पार्न सिस्नुको पाउडर प्रयोग हुने गरेको छ।
सिस्नुलाई झोल बनाएर खानासँगै प्रयोग गर्न पनि सकिन्छ र उमालेर खान पनि सकिन्छ । यसमा हुने रौँ जस्तो झुसमा हुने फर्मिक अम्लले पोल्ने र हिस्टामाइनले सुन्निने भएकाले पीडादायी हुन्छ तर पानीमा उमालेपछि ती तत्वहरू हराएर जान्छन् । सिस्नुको सोही दुर्गुणका कारण पहिले पहिले यातना दिन तथा सजाय दिन यसको प्रयोग गरिन्थ्यो । यसमा हुने भिटामिन ए, भिटामिन सी, भिटामिन डी आइरन, पोटासियम, खनिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल लामो समयदेखि प्रचलनमा रहेको छ । यसमा रहेको प्रोटिनका कारण शाकाहरीहरूका लागि सिस्नु अति उत्तम भोजन हो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।