चिथोर्यौ
नङ्ग्रायौ
कोपर्यौ
मेरी आमाका छातीमा ।
तिमी आफू जन्मेको धरा भूलेर
निन्दनीय कर्म गर्यौ
छलछाम गर्यौ
अन्याय
अत्याचार
अन्यौलताको खेल खेलिरह्यौ बर्षौँ
मेरी आमालाई कति रुवायौ ।
लेखा जोखा छैन
सोझा र निमुखाका अवाज कुल्चेर
आफू आमाकै त्यही छालामा रमिरह्यौ
जुन ती सोझा अवोध
शान्ति प्रीय र
अन्याय सहेर बस्नेहरुको हक हो
आमाले दुईचार बर्ष तिम्रा कर्तुत निहालीरहिन्
चुपचाप निशब्द बनेर
उसै पनि आमा सहिष्णुताकि प्रतिमूर्तीहुन्
सद्भावनाकि धरोहर
आमाका दुई आँखामा भिन्नता छैन
भेदभाव र छलछाम छैन
समता र ममताकि खानी आमा ।
कति हेरर बस्नु आफ्नै सन्तानले
अत्याचार सहेको रु
खाना , नाना र छाना रहित
जीवन जीईरहेका सन्तानमाथि
भ्रष्टाचार र अत्याचार पूर्ण
शासन लादेर
झूठा सपनामा अल्झाएर
सकसै सकसको जीवन बाँच्न बाध्य बनाउने
धुन्धुकारी देखि आमा दिक्क भएर
यी आतातायीको कोपबाट
ती निमुखा र अवोध सन्तानका न्यायका निम्ती
आमा आफैँ ज्वाला बनेर
अकुत महलका बार्दलीमा बसेर
झुठा सपना बुनेर
अपुग आश्वासन बाँडेर
केवल शासक बन्ने
चहाना बोक्नेका दिवा सपना
चकानाचुर बनाउन
निस्कलङ्क सन्तान भित्र बसेर
जागेकीछिन् ।
होशियार
पथभ्रष्ट
देश द्रोही आतातायीहरू !
अनेकन परिवर्तनको खोल ओढेर
व्यबस्था सँगै आफू नबद्लिने
कु शासकहरु !
तिम्रा अवाज बन्द हुँदैछन्
खोरहरुले तिमीलाई पर्खिरहेकाछन् ।
अब तिमीले कुर्सी होइन थोत्रा गुन्द्री , गजेडा र
फाटेको कम्बलमा चिसा रातहरू काट्नु पर्छ ।
जीउँदा सपुतहरुलाई आमाले जगाएकिछिन्
तिम्रा कर्तुतहरुका , अत्याचारहरुका
तस्विरहरु उदाङ्गो बनाउन
आलिशान महलबाट आराम दिलाउन
जोशिला , आँटीला र जाँगरीला
शरिरभित्र बारुद बनेर आमा आफैँ मैदानमा उत्रिएकिछिन्
अब तिम्रा दलबलले कुना पसे हुन्छ
तिम्रा अन्यायपूर्ण नयनहरु बन्द गर
अनि प्रतीक्षा गर अन्तिम घडीको
जहाँ तिम्रा कर्तुतहरूको अन्त्य निश्चित भइसकेको छ
शासक बन्ने सपना छिन्नभिन्न भइसकेको छ ।
धन्यवाद!
परशुराम घिमिरे निदान, मकवानपुर , हेटौंडा ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।