हेटौंडा – संघीय सांसद तथा नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौलाले एमाले नेतृत्वको सरकारप्रति नागरिक सन्तुष्ट रहेको बताएका छन्।
शुक्रबार हेटौंडामा आयोजित दूध विकास संस्थान कर्मचारी संगठन नेपालको १२ औं केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै बर्तौलाले कांग्रेस र एमालेको गठबन्धनमा बनेको सरकारले माओवादीको अराजकता चिर्दै नागरिकको सन्तोषजनक काम गरिरहेको उल्लेख गरे।
उनका अनुसार माओवादीले कांग्रेस र एमालेको काँध चढेर सरकारको नेतृत्व गर्दा अराजकता बढेको थियो। त्यसले मुलुक नै असफल हुने चिन्ता बढेकाले दुई ठूला दलहरूबीच सहकार्य अपरिहार्य भएको बताए।
"माओवादीले कहिले कांग्रेसको काँध चढेर, कहिले एमालेको काँध चढेर देशको नेतृत्व गर्यो," बर्तौलाले भने, "मुलुक असफल हुने अवस्थामा पुगेपछि दुई ठूला दलहरूले काँध थापेर सरकारलाई चुनौतीका बीचबाट जवाफदेहीतासाथ अघि बढाउनुपर्ने अवस्थाको निर्माण भयो।"
उनले हालको सरकारलाई मुलुकको तीन वर्षदेखि बिग्रिएको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन र निराशालाई आशामा बदल्नका लागि काम गरिरहेको दाबी गरे।
"हामी सरकारमा सँगै भए पनि २०८४ को निर्वाचनका लागि प्रतिस्पर्धी हौं," उनले भने, "हामी एक्लै चुनाव लड्ने घोषणा गरेका छौं। तर अहिले नागरिकका समस्याहरू समाधान गर्न साझा प्रयास गर्न प्रतिबद्ध छौं।"
बर्तौलाले वर्तमान सरकारले गरेका कामहरूप्रति नागरिकमा सन्तोषजनक प्रतिक्रिया देखिएको समेत बताए। नेपालखबरबाट
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।