इमेज टेलिभिजन प्रस्तोता रुपा सुनारलाई कोठा नदिने घरबेटी पक्राउ

  • हजुरको खवर
  • आइतबार​, आषाढ ६ २०७८ प्रकाशित

थरका कारण तनहुँकी २४ वर्षीय सञ्चारकर्मी रूपा सुनारलाई कोठा नदिने घरबेटी पक्राउ परेकी छन्।

काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको हाे ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर सिंहका अनुसार प्रहरीले घरबेटीविरूद्ध गत शुक्रबार नै जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो।

‘हामीले घरबेटीविरूद्ध अस्ति शुक्रबार नै पक्राउ अनुमति लिएका थियौं,’ उनले भने।

रूपाले पनि घरबेटी पक्राउ परेकोबारे आफूले थाहा पाएको बताएकी छन्।

आफ्नी आमासँग बस्दै आएकी रूपा गत मंगलबार बबरमहलमा कोठा खोज्न गएकी थिइन्। आफ्नी साथीले देखाउन लगेको कोठा रूपालाई मन परेको थियो। सुरूमा घरबेटीले कोठा दिने कुरा गरेकी थिइन्।

भाडाको कुरा गरेपछि जातको कुरा आउँदा रूपाले घरबेटीलाई आफू कामीकी छोरी हुँ भनेकी थिइन्। त्यसपछि भने घरबेटीले कोठा नदिएकी हुन्।

रूपा इमेज टेलिभिजनको उकाली ओराली कार्यक्रमकी प्रस्तोता हुन्।

रूपाले आफूमाथि जातीय विभेद भएको भन्दै गत बिहीबार प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

प्रहरीले घरबेटीविरूद्ध जातीय भेदभाव तथा छुवाछूत मुद्दाको दफा ४ को उपदफा ३ बमोजिम जाहेरी दर्ता गरेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।