काठमाडौं । सरकारले सूचना प्रविधि (आईटी) सहित अन्य विषय पढेका विद्यार्थीलाई सार्वजनिक सेवामा इन्टर्नशिपको अवसर दिने भएको छ । स्नातक तह उत्तीर्ण गरिसकेका विद्यार्थीहरूलाई इन्टर्नशिप गराउन सरकारले तयारी थालेको हो ।
यसका लागि सरकारले स्तरीकृत ढाँचा (स्ट्यान्डर्ड फर्म्याट) निर्माण गर्न सात सदस्यीय कार्यदल समेत गठन गर्ने भएको छ । यसबारे सोमवार सिंहदरबारमा मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले निर्णय गरेको हो ।
सो कार्यदलले १० दिनभित्रमा इन्टर्नशिप गराउने सन्दर्भमा स्तरीकृत ढाँचा निर्माण गर्ने बताइएको छ । कार्यदलमा विकास व्यवस्थापन क्षेत्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव संयोजक रहनेछन् ।
त्यसैगरी राष्ट्रिय योजना आयोग, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सूचना प्रविधि विभागबाट एक-एक जना सदस्य रहनेछन् ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।