अर्थमन्त्री पौडेल अमेरिका भ्रमण सकेर स्वदेश फर्किए

  • हजुरको खवर
  • बिहीबार, कात्तिक १५ २०८१ प्रकाशित

काठमाडौं: उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा आयोजित विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक बैठकमा सहभागी भएर आज स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थमन्त्री पौडेलको स्वागत राजस्व सचिव दिनेशकुमार घिमिरेले गरे।

बैठकमा अर्थमन्त्री पौडेलले जलवायु वित्त क्षेत्रमा सहयोगको लागि स्थापित विश्वव्यापी वित्तीय कोषहरूको परिचालन प्रणालीलाई सरल र पहुँचयोग्य बनाउन आग्रह गरेका थिए। साथै, जलवायु न्यायको विषयमा अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवार र संवेदनशील बन्न अनुरोध गर्दै हानी-नोक्सानी तथा क्षतिपूर्ति कोषलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सुझाव दिए।

अर्थमन्त्री पौडेलका अनुसार नेपालले प्रस्तुत गरेका विषयप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक रहेको छ। अमेरिका भ्रमणका क्रममा उनले विश्व बैंक, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय वित्त निगमका उच्च पदाधिकारीहरूसँग अलग-अलग भेटवार्ता गरे। साथै, विभिन्न द्विपक्षीय र बहुपक्षीय भेटघाटमा समेत सहभागी भए।

भ्रमणका क्रममा उनले नेपाली दूतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गरे भने अमेरिका चेम्बर अफ कमर्सका प्रतिनिधि र नेपाली समुदायसँग पनि भेटघाट गरेका थिए। अर्थमन्त्री पौडेल कार्तिक ५ गते अमेरिका प्रस्थान गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।