गाउँपालिकाको स्वास्थ्य सेवा कसरी प्रभाह भइरहेको छ ?

  • बिहीबार, जेष्ठ १ २०७७ प्रकाशित

चीनको वुहानमा नयाँ कोरोना भाइरस (कोभिड १९) को पहिलो संक्रमण देखिएको लामो समय पुगेको छ । कोरोनाको कारणले अहिले विश्वभरकै विकास गतिविधि थप्प भएको अवस्था छ । अलिअलि गर्दै नेपालमा समेत कोरोना संक्रमितको संख्या दिनप्रतिदिन थपिदैँ छ । यो अवस्थामा बकैयाँ गाउँपालिका कार्यालयले भौतिक पूर्वाधार र सामाजिक विकासका योजनाहरु कसरी संचालन गरिरहेको छ ? बकैयाँ गाउँपालिका कार्यालयका प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीसँग हजुरको खबर डटकमका सम्पादक रुपक कालिराजले कुराकानी गर्नु भएको छ । प्रस्तुत छ कुराकानीको सार संक्षेप : 

यस गाउँपालिकाले कस्ता कस्ता योजना सञ्चालन गरिरहेको छ ? 
यस गाउँपालिकाले भौतिक पूर्वाधार र सामाजिक विकासका योजनाहरु सञ्चालन गरिरहेको छ ।भौतिक पूर्वाधार अन्तर्गत वडा कार्यालय लगायतका भवन निर्माण गर्ने, सडकका नँया ट्र्याक ‌ओपन गर्ने, सडक विस्तार तथा स्तरोन्नती गर्ने जस्ता कार्यहरु भइरहेका छन् भने     सामाजिक विकासतर्फ कृषि पशुपालन सिप विकास तथा क्षमता अभिवृद्दि जस्ता विभिन्न तालिम कार्यक्रमहरु भईरहेका छन्। गाउँपालिकाले बालमैत्री स्थानीय तह निर्माणका लागि अभियान सञ्चालन गरिरहेको छ ।गाउँपालिकाको डकोमेन्ट्री निर्माण, प्रोफाईल निर्माणका कार्यहरु भइसकेका छन्। आवधिक विकास योजना निर्माणको अन्तिम चरणमा रहेको छ । 

योजनाहरु कसरी सञ्चालन गरिरहनुभएको छ ? 
योजनाहरु ई-विडिङ मार्फत र उपभोक्ता समितीहरु मार्फत सञ्चालन भईरहेका छन् । कार्यपालिकाको निर्णयबाट नै रु. १० लाख भन्दा माथिको योजनाहरु ठेक्का मार्फत नै सञ्चालन गर्दै आइएकोमा पछिल्लो समय ठेक्का मार्फत सञ्चालन गर्दा नभ्याइने अवस्था, कोरोना महामारी लगायतका कारणले १० लाख माथिका केही योजनाहरु समेत उपभोक्ता समिती मार्फत सञ्चालन भएका छन् । 

सामाजिक क्षेत्रको कामहरु कसरी सञ्चालन गर्नुभएको छ ? 
सामाजिक क्षेत्रका कामहरु पनि गरिरहिएकै हो । अहिले कोरोनाको कारण कतिपय कार्यक्रमहरु गर्न नसकिएको अवस्था हो । गाउँपालिकाले बालमैत्री स्थानीय शासनको अभियान सञ्चालन तिव्र रुपमा गरिरहेको छ । सहकारी संस्थाहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरियो ।खेतीपाती गर्ने तथा पशुपालन गर्ने दुवै किसिमका कृषकहरुलाई मध्यनजर गरेर अनुदानमा विउ वितरण, अनुदानमा गोठ सुधार, अनुदानमा वोयर जातको बोका वितरण, अनुदानमा च्यापकटर वितरण, तालिम कार्यक्रम जस्ता कृयाकलापहरु भइरहेका छन् । महिला, वालवालिका, अपाङ्ग,  विपन्न नागरिक लगायतको लागि छुट्टै बजेट शिर्षक व्यवस्था गरि कार्यक्रम सञ्चालन भईरहेका छन् ।सबै वडामा स्वास्थ्य चौकी व्यवस्थापनको प्रकृया अगाडी बढाईएको छ । अहिले ८ वटा वडाहरुमा स्वास्थ्य चौकी रहेका छन् । खोपकेन्द्रहरु २० ठाउँमा सञ्चालन भइरहेका छन् ।सुरक्षित प्रसुतीका लागि चौबिसै घण्टा बर्थिङ्ग सेन्टरको व्यवस्था, रक्तसञ्चार सुविधा लगायत स्वास्थ्यका गतिविधिहरु चलिरहेका छन्। अहिले कोरोनाको संक्रमणको समयमा स्वास्थ्य सेवा प्रवाहमा गाउँपालिका कटिवद्द भएर लागेको छ । शिक्षा क्षेत्रको कुरा गर्नुपर्दा ई-हाजिरि जडान, विद्यालयहरुलाई कम्प्युटर वितरण,  स्रोतकेन्द्र स्तरीय नमूना विद्यालय छनौट र व्यवस्थापन, विद्यालय सुधार योजना,  शिक्षक विद्यार्थी अनुपात मिलान,विद्यालय पूर्वाधार निर्माण जस्ता कार्यहरु भइरहेका छन् । 

गाउँपालिकाको भौगोलिक अवस्थिती कस्तो रहेको छ ? 
यस गाउँपालिकाको भौगोलिक अवस्थितीको कुरा गर्नुपर्दा क्षेत्रफल ३९३.७५ वर्गकिलोमिटर भन्ने आधिकारिक तथ्यांक भए ता पनि सिमानाको भुभाग मिलान गर्दा ४६० वर्गकिलोमिटर रहेको भन्ने देखिएकाले गाउँ पार्श्वचित्रमा सोहि अनुसार प्रकाशन गरिसकेका छौँ । जनसंख्या २०६८ को जनगणना अनुसार करिव ४० हजार रहेकोमा पार्श्वचित्र निर्माणको क्रममा करिव ४५ हजार रहेको छ । यो गाउँपालिका भौगोलिक र जनसंख्या दुवै दृष्टिले देशका ठुला मध्यको एक स्थानीय तह हो ।पाँच ओटा साविक गाउँ विकास समितीहरु गाभेर यो गाउँपालिका बनाइएको हो । बागमती प्रदेशको राजधानी हेटौँडाबाट यो गाउँपालिका नजिकको दुरिमा रहेको यो गाउँपालिकामा निजगढ काठमाडौँ द्रुतमार्ग, मदन भण्डारी लोकमार्ग र कान्ति लोकपथ गरि तीन ओटा राष्ट्रिय स्तरका सडक सञ्जालहरु रहेको छ । विकासको गतिमा तिव्र रुपमा भएको भए ता पनि यस गाउँपालिकाका केही भूभागहरु अलि दुर्गम रहेका छन् । 


जनप्रतिहरुको भूमिका र कामलाई कसरी मूल्यांकन गर्नुभएको छ ? 
जनप्रतिनिधिहरु एकदम सकृय पूर्वक विकास गतिविधिमा लाग्नुभएको पाएको छु ।अध्यक्ष ज्यू, उपाध्यक्ष ज्यू लगायत सबै जनप्रतिनिधिहरुको सकृयताले नै हामीहरुलाई कार्य गर्न धेरै उर्जा मिलिरहेको छ । 

यँहा शिक्षा अवस्था कस्तो छ ? त्यसको सुधारको लागि के गरिरहनुभएको छ ? 
शिक्षाको बारेमा माथि नै केही चर्चा गरिसकेको छु । गाउँपालिकामा शिक्षाको अवस्था राम्रो नै छ । सेवा लिन आउने अधिकांश सेवाग्राहीहरु साक्षर रहेको पाएको छु । विद्यालय शिक्षाको कुरा गर्नुपर्दा सामुदायिक विद्यालय नै ७५ ओटा र केही संस्थागत विद्यालय समेत रहेको यस गाउँपालिकामा विद्यालय भर्नाको दर शत प्रतिशत नै रहे ता पनि केही विद्यार्थीहरु स्कुल छाड्ने गरेको र केहीले परिक्षामा मात्र आउने गरेको समेत पाएको छु । 

गाउँपालिकाको स्वास्थ्य सेवा कसरी प्रभाह भइरहेको छ ? 
गाउँपालिकाको स्वास्थ्य सेवाको सम्बन्धमा पनि केही जानकारी पहिले नै गराइहाँले । स्वास्थ्य सेवाको लागि गाउँपालिका कार्यालयमा सामाजिक विकाश शाखा, १ ओटा प्राथमिक स्वास्थ्य केन्द्र, ४ ओटा स्वास्थ्य चौकी र ३ ओटा सामुदायिक स्वास्थ्य इकाई रहेका छन् । २० ठाउँमा खोप केन्द्र सञ्चालन हुने गरेको छ ।। १५ सैयाको अस्पताल निर्माणका लागि पहलकदमी जारी राखेको छ । 
सबै वडामा स्वास्थ्य चौकी निर्माणका लागि प्रकृया अगाडी बढाईसकिएको छ । गाउँपालिकाले विपन्न नागरिकलाई उपचारका लागि केही सहयोग गर्दै आएको छ । 
 

स्वास्थ्यको सवालमा जनताको चेतना स्तर कस्तो पाउनुभएको छ ? 
स्वास्थ्यको सवालमा जनताको चेतना स्तर सकारात्मक नै पाएको छु । स्वास्थ्य सेवा लिनका लागि नागरिकहरु स्वास्थ्य संस्थामा उलेख्य उपस्थित हुने गरेको देखेको छु । स्वास्थ्य विमामा पनि धेरै नागरिक आवद्द भएका छन् भने कतिपय प्रकृयामा रहेका छन् । गाउँगाउँमा स्वास्थ्य स्वयंसेविका समेत हुने हुँदा स्वास्थ्य सचेतना राम्रो रहेको भन्ने ठानेको छु । 



नँया संरचनाको स्थानीय तहको अनुभव कस्तो रह्यो ? 
मेरो सवालमा नयाँ संरचना निर्माण भए पश्चात नै स्थानीय तहमा काम गरेको अवस्था हो । अहिले स्थानीय तहले अधिकार सहित नागरिकको घरदैलोमा सेवा प्रवाह गरिरहेको छ । आर्थिक रुपमा संघ सरकार र प्रदेश सरकारमाथि निर्भर हुनुपर्नेको अवस्था भए ता पनि स्थानीय तह स्वयत्त रुपमा कार्य गर्नअग्रसर भएका छन् । र नयाँ संरचनाको स्थानीय तहले विकासका लागि महत्वपूर्ण भुमिका निभाएको पाएको छु । अहिले तत्काल विकासमा अस्तव्यस्तता जस्तो देखिए ता पनि केही वर्षपछि विकासको सहि अनुभव सारा देशले गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।  

कर्मचारीहरु किन स्थानीय तहमा लामो समय टिक्दैनन् ? 
कर्मचारीहरु स्थानीय तहमा नटिक्ने भन्ने सवाल त अब पुरानो भयो जस्तो लाग्छ । सुरुमा स्थानीय तह निर्माण हुदाँ नयाँ संरचना भएको कारण प्रणाली कायम हुन नसकेको र जनप्रतिनिधी र कर्मचारीमा अत्मियताको भावना नहुँदा कर्मचारी नटिकेको हुन सक्छ । पछिल्लो समय स्थानीय तहमा प्रणाली कायम हुँदै गएको, कर्मचारी समायोजन भए पश्चात र लोक सेवाबाट नियुक्त भए पश्चात कर्मचारीको टिकाउपन बढेको देखेको छु । यसो भन्दै गर्दा कर्मचारीहरुलाई वृतिपथमा अगाडि बढ्ने अवसरको ढोका खुला हुनुपर्छ भन्ने विचार समेत व्यक्त गर्दछु । सबै स्थानीय तह उस्तै त नहोला, तर पहिलेको भन्दा सबै स्थानीय तहमा सुधार हुँदै गएको छ भन्ने लाग्छ । 

गाउँपालिकाको कृषि क्षेत्रको अवस्था कस्तो छ ? 
यस गाउँपालिकाको कृषि क्षेत्रको कुरा गर्नुपर्दा केही भनाई पहिले व्यक्त गरिसकेँ । गाउँपालिकाको अधिकांश भुभाग कृषि क्षेत्र नै रहेको र अधिकांश नागरिक कृषि पेशामा नै लागेकाले गाउँपालिका कृषिमा उन्नत नै रहेको छ । गाउँपालिका कार्यालयले पनि कृषि क्षेत्रमा विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेकै अवस्था हो । समग्रमा कृषि क्षेत्रको विकासमा पालिका र नागरिक दुवै पक्षको सकृय भुमिका रहेको छ । वर्तमानको परिस्थितीमा नागरिक गाउँ फर्केको अवस्थाले  गाउँपालिकामा रहेको बाँझो जग्गामा समेत खेती विस्तारमासहयोग पुग्ने अपेक्षा छ ।  

संघीय सरकारको अनुदानमा सञ्चालन भइरहेको स्थानीय तह आफैँ सक्षम हुन कति समय लाग्ला ? 
ठिकै भन्नुभयो । अहिले संघीय सरकारको अनुदानमा स्थानीय तहहरु सञ्चालन भइरहेको अवस्था हो ।यो अवस्था केही वर्ष सम्म जारी नै रहन्छ ।स्थानीय तह पुर्ण रुपमा आफ्नै आम्दानीमा सञ्चालन हुने त होइन अन्तरसरकारी सहकारी र समन्वयमा सञ्चालन हुने सरकारहरुबिच आर्थिक लगायतका समन्वय त सधैँ कायम भइहाल्छ नै । राजश्व संकलनलाई अझ व्यवस्थित र दायरा विस्तार गर्दै जाँदा केही वर्षमा अधिकांश आम्दानी स्थानीय तहकै हुन्छ । 

कर संकलनको अवस्था कस्तो छ ? 
कर संकलनको अवस्था भन्नुपर्दा सिफारिश तथा घटना दर्ताबाट नगन्य मात्रामा कर संकलन भइरहेको अवस्था छ । भने IEEगरेको स्थानबाट ढुङ्गा गिट्टीको कर संकलन गर्दा करिब १.५ करोड राजश्व यस आर्थिक वर्षमा संकलन हुने आंकलन छ । योजनाको निर्माणको क्रममा ६ करोडको राजश्व संकलनको अनुमान गरिएको भए ता पनि थप IEEस्वीकृत नभएको र ठेक्का नभएको कारण अनुमान अनुसारको कर उठ्न नसक्ने देखिएको हो । 

आन्तरिक पर्यटक प्रवर्द्धनका लागि के गर्दै हुनुहुन्छ ? 
आन्तरिक पर्यटक प्रवर्द्धनको सन्दर्भमा भन्नुपर्दा गाउँपालिकाले ३ ओटा पर्यटन पार्क निर्माण गरिरहेको छ । बकैया ठाकुर मन्दिर र  नवपहिचान भएको गढी सहितको बकैया ठाकुर मन्दिर पर्यटन पार्क, धनेश्वर पर्यटन पार्क तथा गौतम बुद्ध पर्यटन पार्क निर्माण हुँदै गरेका पर्यटन पार्क हुन। देशका राष्ट्रिय स्तरका सडक सञ्जालहरु नै आन्तरिक पर्यटक आकर्षण हुने क्षेत्र हुन। गाउँपालिकाले पर्यटन विकासलाई आवधिक विकासको लक्ष्यका रुपमा नै अगाडी सारेको छ । 

कोरोनाले गर्दा समग्र बिकासमा कत्तिको प्रभाव परेको छ ? 
वास्तवमै कोरोनाको कारणले अहिले विश्वभरकै विकास गतिविधि थप्प भएको अवस्था छ । अलिअलि गर्दै नेपालमा समेत कोरोना संक्रमितको संख्या दिनप्रतिदिन थपिदैँ छ । गाउँपालिकाका पनि तालिम विकासका कार्यक्रमहरु त लकडाउन शुरु हुनुभन्दा अगाडी देखि नै रोकिएको हो ।भौतिक विकासका कामहरु भने स्थानीय श्रमिकहरुको साथमा सामाजिक दुरी कायम गरि सञ्चालन गरिरहेका छौँ । तर कोरोनाको कारणले समग्र विकासको प्रगति घट्न गएको अवस्य हो । अघिल्लो वर्ष यस गाउँपालिकाले मकवानपुर जिल्लाको सबभन्दा बढी वित्तीय प्रगति हासिल गरेको उत्साह हुँदाहुँदै पनि यस वर्ष यस महामारीले गर्दा विकासमा अवरोध आउँदा दुख महशुस भएको छ। तर पनि मानिसको जीउ ज्यान स्वास्थ्य भन्दा ठुलो कुरा केही पनि होइन भनेर चित्त बुझाउँदै छौ । 

अन्तमा केही भन्नु छ कि ? 
अन्तमा म लगायत गाउँपालिका कार्यलयका सम्पूर्ण कर्मचारीहरु नागरिकको सेवा गर्न हरबखत तयार रहेका छौ । कानुनी नियम कानुन र प्रकृयामा रहेर कार्यहरु गरिनै रहने छौँ । जनप्रतिनिधीको साथमा रहेर स्थानीय सरकारको रुपमा नागरिकहरुलाई सेवा प्रवाह निरन्तर भइरहनेछ । वर्तमान विषम परिस्थितीमा विकास गतिविधिमा अवरोध आएको भए ता पनि आगामी दिनमा विकास गतिविधी अवस्य जारी रहने छन् । आफ्नो स्वास्थ्यको ख्याल गर्दै सामाजिक दुरी कायम गर्दै कृषि लगायतका कार्यहरु गर्नुहोला । स्वास्थ्यको बारेमा सचेत रहनुहोला भन्दै तपाई लगायत हजुरको खबर टिमलाई विशेष धन्यवाद दिन चाहान्छु । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।