गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत क्वरेण्टीनमा भर्ना

  • बिहीबार, जेष्ठ १ २०७७ प्रकाशित

महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किराती र प्रमुख प्रशासकीय अधिकृत लवुन राईसहित आठ जनालाई क्वरेण्टीनमा राखिएको छ । काठमाण्डौमा रहेका महाकुलुङबासीहरुलाई राहत बाँढेर गाउँ फर्किएका अध्यक्ष किरातीसहित आठ जनालाई गाउँपालिकाले बनाएको क्वरेण्टीनमा राखिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि आचार्यले जानकारी दिनुभयो । 

सबै जनालाई एक हप्ता क्वरेण्टीनमा राखेर र्‍यापिड टेष्ट गरेर उनीहरुलाई घर पठाइने पनि संयोजक आचार्यले जानकारी दिनुभयो । काठमाण्डौमा बसेर मजदुरी गर्दै आएका महाकुलुङ गाउँपालिकाका सात सय २१ परिवारलाई राहत बाँडेर फर्किएको अध्यक्ष किरातीले बताउनुभयो । काठमाण्डौमा रहेका परिवारलाई प्रति परिवार एक बोरा चामल, चार किलो दाल र एक लिटर तेल दिएको उहाँले बताउनुभयो । 
 

राहत बाँड्ने क्रममा धेरै मानिसको सम्पर्कमा पुगेकोले आफुहरुमा हुन सक्ने सम्भावित कोरोना सङ्क्रमण गाउँमा नफैलियोस भनेर क्वरेण्टीनमा बसेको पनि अध्यक्ष किरातीले जानकारी दिनुभयो । एक हप्तासम्म अध्यक्ष मार्फत गरिने काम क्वरेण्टीनबाटै व्यक्तिगत दुरी कायम गरेर पुरा गरिने पनि उहाँले बताउनुभयो । 

गाउँपालिकाले यस अघि जनप्रतिनिधि, कर्मचारी, शिक्षकहरु लगायतको सेवा सुविधाबाट निश्चित दिनको रकम कटाएर साढे १५ लाखको कोष बनाउनुको साथै प्रदेश र पालिकाको बजेटबाट राहत वितरण तथा काठमाण्डौबाट घर फर्किन चाहने ४ सय ७८ जनालाई घर फर्काइएको पनि अध्यक्ष किरातीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।