कथा : अनौठो पर्खाई

  • शुक्रबार​, चैत्र १४ २०७६ प्रकाशित

त्यस रात... 
अविरल रुपमा चट्याङ्ग सहित आकाशे पानी झमझम बर्सिरहेको थियो...त्यस्तै रातको ९ बजेको हुदो हो म बजार बाट घर फर्किने क्रममा थिए... 
झोलाभरी घरायसी सामान किन्ने मनसायले हुइकेको थिए फाँट बजार...। किलमिल को अन्त्यतिर करिब ७ बजे देखी बाट सिमसिमे पानी पर्न थाली सकेको थियो । सिमसिमे पानीले ठुलो बर्षाको रुप लिन खासै बेर लागेन...। २ घन्टा लगातार आकाशे पानी दर्किरह्यो करिब ९ बजे सम्म । यो अबधीभर साइँलीको चिया पसलको ४ कप चिया पनि बुत्याईसकेको पत्तोई भएन... 

केही समय पछी... 
झरी अलिक कम भयो,घर तिर लाग्ने पक्का भो...। बढाए आफ्नो हिडाईको रफतार...झोलाभरी समान बोकेर...। हिड्दै गर्दा चुरोटको तलतल लाग्यो,निकाले गोजि बाट गोलफ्ल्याक चुरोट र मैना सलाई । कोरेँ सलाईको काँटी सलाईको कालो भागमा । तर अह सल्किन मानेन । ओस्सिसकेका रहेछ्न चुरोट पनि सलाई पनि...। सायद अगि सिमसिमे पानिमा भिज्दै किलमिल गर्दा भिजेका थिए चुरोट र सलाई । 
यस्तै यस्तै केहि सोच्दै बढाए आफ्नो पाइलाको कदम... 

अब दिमागमा एउटै कुराको चिन्ता थियो कि कति खेर पुगु म घर ! मलाई माइल पार गर्नु थियो । पाइला गलिसकेका थिए । ज्यान थाकिसकेका थिए । घर जान अझै २ घन्टा लाग्छ कसरी पुगु ? उसो त पहिरो पनि बाटो बिच-बिचमा गैसकेको थियो । एक्लै,सुनसान रात ! न जुन न तारा । केबल हुस्सु र तुवाँलो । घना जङ्गल हुँदै जानू पर्ने घरको बाटो । हत्तेरी ! कस्तो बेलामा परेछ यो पानी पनि । यस्तो सोच्दै गर्दा म माईखोला किनार छेउ आईपुगेको थिए... 

खोला बिचमा हिड्न सजिलो होस भनेर गाउँलेहरुले ढुङ्गाको फड्के बनाएका थिए । त्यही फड्के तर्दै गर्दा फेरि दिमागमा अर्को कुरा खेल्यो;-आमा मेरै बाटो हेर्दै होलि छोरो कति खेर रासन लिएर आउला र खाउला ! बहिनी खेलौना र चप्पलको लागि अझै नसुति नसुति बसिरहेकी होलि । भिमफेदिमा नुन लिन जाँदा पहिरो ले लगेका मेरा बाँ लाई सम्झेर आँखा बाट आँसु तप्प खस्यो । अरु बेला समयमै घर आउने छोरा आज बेर गरेको देख्दा आमा पनि वाक्क भैसकिन होलि ! फुच्ची बैहिनी,दाइ कति खेर घर आउँछ भनेर आमालाई गनगन गर्दै होलि । अनेक अनेक बिचार खेल्यो मनमा । अनि सोचे प्रकृतीको नियम जस्तो रहेछ जिन्दगी पनि कुन बेला के हुन्छ थाहै नहुने... 

रात ढले पनि ज्यान गले पनि हिडाईको रफतार बड्दैथ्यो । बिर्सेका पुराना याबत कुरा दिमागले सोचे पनि घर पुग्नु पर्ने उदेश्य बिर्सेको थिएन । त्यसैले जतिसक्दो चाडो खुट्टाका पाइला अघि सार्दै थिए तातो आगोको कोइला बाट नाङ्गो पैताला हटाउन हतार गरे जसरी...। काली बनको बिच भिरमा पुगेपछि अचानक मेरो आँखाले तोरिको फुल देख्यो । मन डरायो । यस्सै अत्ताल्लियो । भिरको पारि जोड्ने बाटोलाई त खल्यात्तै पहिरोले पो लगेछ । भीर वारि बसेर सोचिरहे म अब कसरी घर जानू यहि त थियो मेरो घर जाने मुल बाटो... 

अब म सङ्ग मात्र दुइटा विकल्प थियो,कित बजारै फिर्नु कित ३ घन्टाको बाटो दोधारे गाउँ हुदै आफ्नो घर जानू । मनको बिचार बुझ्न त्रिभुवन राजा अङ्कित सिक्का लाई गाई कि त्रिशुल पनि गरे । परिणाम घरै जाँ भन्ने निक्ल्यो । तर मेरो मन त्यो ३ घन्टाको बाटो हुँदै कसरी जानू घर भन्नेमा थियो । त्यै माथी त्यो दोधारे गाउँको बाटो म कहिले हिडेको थिएन न कतै चोर गुन्डाको फेला पो पर्छु कि ? भन्ने मनको बाघले खायो मलाई । फेरि यस्सो सोचे घर त पुग्नु नै छ जसरी भएनी आधा बाटो आईपुगीसके काहाँ बजार फर्कनु र भन्ने लाग्यो । त्यसैले केही नसोचि बढाए आफ्नो पाइला दोधारे गाउँको बाटो तिर... 

फेरि चुरोटको तलतल लाग्यो बोगली छामे अह थिएन चुरोट । भुसुक्कै बिर्सेछु ओस्सिएको चुरोट र सलाई त अगिनै फालिसकेको थिए भनेर । सुख्खा मुख बनाउदै हिड्दै थिए नजिकै एउटा काठे पुल आईपुग्यो जहाँ लेखिएको थियो दोधारे पुल । अनि अलि अगाडी दोधारे गाउँमामा यहाँहरुलाई स्वागत छ भन्ने खम्बा...। 
मन खुशीले गदगद हुँदै थियो यो गाउँ कटे पछी मेरो गाउँ आउँछ भन्ने कुराले । तर अफसोच फेरि आकाशे पानी छिट्टाउन थाल्यो । पानी मात्रै हैन अब त हावा हुरि पनि उत्तिकै बेगले चल्न थाल्यो घरै उडाउला जसरी । बेला बेला बिजुलीको चम्काईले आँखा तिर्मिराउथ्यो । गाडङ्गगुडुङ्ग मेघ गर्जना साथ अब त झन ठुल-ठुला असिना सहित पानी पर्न थाल्यो । म मेरो आजको दिनको सराप गर्दै थिए कस्तो बेला बजार निस्केछु भनेर...। ठुल-ठुला असिना टाउकोमा बजार्न लागे । पानीले निर्थुक्कै भए । झोलाभरीका सामान नि भिज्यो, साथमा छाता पनि थिएन..। हुरिले मलाई नै उडाउन खोज्यो । थुक्क अभागी कर्म ! सोच्दै दौडदै थिए एक्कासि खुट्टा ढुङ्गामा ठेस लाग्यो,रक्ताम्य भो पैताला थचक्क भुइँमा लडेँ । मुख बाट दुखित ध्वनि निस्क्यो :- आईया ! आमा !! 

अपरिचित ठाँउ,अपरिचित मान्छे,कस्लाई गुहारौ ? रातको ११ बजे,सब सुतिसके होलान । खरको छ्वाली ले छाएको एउटा घरको पिडि नजिक बलजफ्ती ले पुगे...। आनन्दको सास फेरे...लुगा सब निर्थुक्क भिजेका थिए यहासम्म कि झोलाभरीको सामान पनि । अब मलाई अरु कुनै कुराको पर्बाह भएन मात्र शरीर न्यानो बनाउन पाए पुग्छ भन्ने लाग्यो...। 
यो कस्को घर होला ? भित्र कोको होलान् ? मैले ढोका ढकढकाउदा के सोच्लान ? यस्तै पिरले मन फेरि चिन्तित भो ! तर चिन्ता गरेर पनि त भएन,मलाई जसरी भएनि निर्थुक्क भिजिएको आफ्नो शरीर न्यानो बनाउनुथ्यो । आट गरेरै ढोका ढकढकाए...कोहि बोलेनन् । फेरि ढकढकाए फेरि पनि बोलेनन् । आकाशे पानी अझै बेग हानेर दर्किरहेको थियो आँगन नै प्वाल पार्ने गरि । अन्धकार रात हावाहुरी त्यतिकै..जाडोले मर्न लागीसकेको म,आँगनमा लडिरहेको डोकोलाई हेर्दै घरी घर भित्र चिहाउदै थिए,सोचे अब आँगन कै बाँस बस्नु पर्यो । नजिकै एउटा पुरानो बोरा पनि फेला पारे। त्यही ओडेर सुत्न आटेकै थिए,कसैले ढोका खोलेको आवाज आयो । म डगमगाए । मेरो हलचल बड्यो । 

- को हँ पिडीमा ? ढोका भित्र बाट स्त्री आवाज आयो । २७/२८ बर्षको युवती केटीको जस्तो सुरिलो । 
मैले भने म ! को म ? भित्रबाट अलि च्याठ्ठिएको आवाज आयो । म..अँ पारी गाउँको मान्छे । 
- नाम छैन कि क्या हो हजुरको ? 
-छ नि ! 
- अनि भन्नुस न त ? यहाँ किन फेरि ? 
- सुशाल,सुशाल तामाङ...पारी गाउँकि फुलमायाँको छोरो । हेर्नुन किलमिल गर्न फाँट बजार आकोथे ! ७ बजे देखि पानी पर्न थालेको अहिले सम्म रोकेको छैन । मेरो गाउँ जाने बाटो काली बनको भिर बिचमा पनि पहिरो गएछ ! त्यसैले हजुरको गाउँ हुदै घर जाउ भनेर हिडेको झन झन पानी पर्यो । असिना पनि ! हावाहुरी पनि । म निर्थुक्क भैसके ! झोला भरीको सामान पनि भिजिसक्यो ! बाटोमा आउदा ढुङ्गामा ठेस लाग्यो खुट्टा बाट रगत बगिरहेको छ । जाडोले मत मर्नै आटिसके ! लौन मिल्छ भने आज एकदिन मलाई यतै बाँस दिनु...! त्यसैले आको हु म यहाँ... 

अन्धकारमा अनुहार नदेख्दै नदेख्दै एकअर्कमा गरिएको बाचचित पछी एउटा आस मनमा पलायो कि मैले यति भनिसके पछी अब त दया पलाउलान् नि यी केटीलाई भन्ने ! तर बिडमबना सोचेको बिपरित भयो !! मेरो कुरा सुनेपछि झन ढोका पो ढ्याप्प लगायो...थाहा छैन किन लगायो ? दिमागले केही सोच्न सकेन । सोच्यो त केबल;- किन मान्छे यति निर्दयी हुन्छन् ? 

पानी अझै रोकिएको थिएन,मेघ गर्जन छोडेको थिएन,गुच्चा जत्रा असिनाहरु आगनमा बज्रीरहेको थियो । हावाहुरीले पिडिको पालीलाई भुइँचालोले जस्तो हल्लाईरहेको थियो । चम्किरहेको बिजुलीको उज्यालो ले बेला बेला त्यही लगाएको ढोका देखाउँथ्यो ,आँखा पनि ती पुग्थ्यो । ढोकै छेउ पीडिमा उतानो परेर पल्टिरहेको म...आजको दिन अनि रात दुबैलाई धिकार्दै थिए...अचानक ढोकाको चेपबाट आगोको राको जस्तो केही देख्न थाल्यो ! म आत्तिए...ढोका बिस्तारै खुल्न थाल्यो...मन्द गतिमा...ढोका पुरै खुल्न थालेपछि थाहा भो टुकि बत्ति बालेर त्यही स्त्री जो पछेउरीले मुख छोपेर ढोकाको डिलमा आईन र भनिन् :- हजुर भित्र आउनुहोस्... 
म छक्क परे ! अगि ढोका बन्द गरेर जाने यी केटीको मन कसरी पग्ल्यो ? यस्तै केही सोच्दै थिए...फेरि त्यही आवाज कानमा गुन्ज्यो :- हजुर भित्र आउनुहोस् भनेको !! म झस्के !! मैले हुन्छ भन्ने भाबमा मुन्टो हल्लाए...हतार हतार म घर भित्र छिरे । जाडो पनि यति सम्म भएको थियो मलाई पीडि छेउ राखेको झोला पनि भित्र ल्याउनै बिर्सेछु । ती स्त्रीले पछी ढोका लागाएर भित्र आउँदा पो थाहा पाए मेरो झोला त उस्को हातमा रैछ । 
- ए ! हजुरलाई गारो भो है ? बाहानामा मैले भने, 
- छैन के गारो हुनु ! बरु बस्नुस् न गुन्द्रीमा किन उभिरहनु हुन्छ ? मायालु भाबमा उस्ले भनिन् । 
मैले हस भन्ने भाबमा मुन्टो हल्लाए,बसे । उ पनि टुकि बत्ती भित्ताको किलामा झुन्डाएर खाटमा बसि...। 

ढुङ्गा माटोको भुइँतले घर,एउटा मात्र कोठा,एउटा खाट । खरको छानो,छानोबाट चुहिएको पानी सिधै म बसेको गुन्द्रीमा...। घरको भित्ते प्वालहरु बाट आएको चिसो स्याट सिधै ओछ्यानमा । बिचरी ! यी केटी कसरी बस्दी हो यो घरमा,यस्तै केही सोच्दै थिए म,ती स्त्रीको मुख बाट आवाज निस्क्यो;- के सोच्नु भाको ? 
- खास केही हैन ! अनि यो घरमा तपाईं एक्लै ? 
- हैन बुडा पनि हुनुहुन्छ । 
- अनि खैत देख्दिन त म ? 
- उहाँ मुग्लान हुनुहुन्छ । कमाउन । 

बिचरी ! एक्लि !! कसरी दिन बिताउदी हो ? जो आफ्नो श्रीमानलाई कुरिबसिरहेछ मुनाले मदनलाई कुरे जस्तो ! एक्कसी मेरो मनमा दया भाबको ज्वारभाटा उक्ल्यो । 
फेरि ती स्त्रीले सोधिन;- खाना त पक्कै खानु भएको छैन होला ? म खाना बनाउछु है प्रतीक्षा गर्नुस ! 
- हैन तपाईलाई केको दुख दिनु ! अब सुत्ने हो ! यति राति पनि खाना खान्छन त कोई भुतले जस्तो ? मैले जिस्किदै भने, 
- के को दुख नि ! अगि बनाको तिउन छ्दै छ । बाकी रह्यो खानाको कुरा म बनाईहाल्छु नि ! 
यति भनेर उनी अगेनामा दाउरा मिलाउन लागिन् ! 

दाउरा मिलाईसके पछि पुरानो बोराले आगो सल्काउन खोजिन तर सल्किन सकिरहेको थिएन । एकछिन पछी बल्ल तल्ल आगो सल्क्यो । आगो बले पछी उस्ले भनिन् :- आउनुस आगो ताप्दै गर्नुस ! तपाईंलाई धेरै जाडो भो होला ! म अगेना छेउ गए । फेरि केही भुले जस्तो गरि उनले भनीन,:- ला ! मैले त भुसुक्कै बिर्सेछु ! 
- के बिर्सनु भोर ? मैले सोधे ! 
- एक छिन है ! भन्दै उनी सन्दुक उघार्न थालिन अनि मेरो हातमा केही कपडा थमाइन । यो मेरो बुडाको कपडा हो । तपाईंको सबै लुगा भिजेका छन,लाउनुस यो फेर्नुस । म झन छक्क भए ! अगि सम्म ढोका ढपक्क बन्द गरेर बस्ने केटी बाट मैले यो प्रकारको मायाको आस गरेको थिएन । यस्तै सोच्दै थिए ! अफ्ट्यारो मान्नु पर्दन के लगाउनुस । उ फेरि बोल्न थाली ! मैले लुगा लिगे र बाहिर पीडीमा गएर फेरे ! त्यतिन्जेल सम्म उस्ले खाना बसाली सकेको रहेछ...आफ्नै खेतको धानको भात । 

म उस्को बुडाको सुकिलो लुगामा उभिएरहेको थिए...उस्का मृग नयनी आँखा ले मलाई देख्यो अचानक उ रुन थालिन् ! 
मैले सोधि हाले;- लौ किन रुनु भाको तपाईं ? 
- ए ! धुवाले गर्दा ! उस्ले बाहाना बनाई । 
सायद बिचरि मलाई उस्को बुडाको भेसमा उस्कै बुडा जस्तो देख्दी हो... 
उ फेरि बोलि :- आउनुस न आगो ताप्नुस । 
म अगेना छेउ गए... 

अगेना छेउ पुगे पछि एकटकले उस्का आँखा परेला दुबै हेरे । कतै आफ्नै लाग्ने खालका थिए ती नयनहरु...। यत्तिकैमा घचघचाएर सोधिन मलाई :- हैन के हेर्नुभाको त्यसरी ? 
- म झस्के ! हैन म अगिनै देखि एउटा कुरा ख्याल गरिराछु । 
- के कुरा हो त्यस्तो ? 
- तपाई आँखा बाहेक अरु सब पछेउरी ले छोपिरहनु भाछ अगिनै देखि किन ? 
- यदि पछेउरी हटाए भने हजुर चकित पर्नुहुन्छ त्यसैले, 
- किन त्यस्तो राम्री हुनुहुन्छर तपाईं ? हुन त आखै राम्रो तपाईंको ! आखै हेरेरै थाहा हुन्छ तपाई कति राम्री हुनुहुन्छ भन्ने कुरा...तपाईं जस्तो श्रीमती पाउने तपाईंको श्रीमान कति भाग्यमानी ! 
- कुरा राम्री र नराम्री को हैन ! 
- अनि केहो त ? किन छोप्नु हुन्छ पछेउरीले अनुहार ? 
- भो यसबारे म कुरा गर्न चाहन्न अब ! 
त्यस पछी म चुप बसे । खाना पनि पाकीसकेको रहेछ गफै गफमा । उ खाना पस्किन तिर लागि । म हात धुन तिर... 

उस्ले सोचेको भन्दा राम्रो व्यबहार गरेर खाना खुवाईन् । खाना खाईसके पछि बिस्ताराको बेला भो । उस्ले भुइँको गुन्द्रीमा केही डसना र सिरक मिलाएर ओछ्यान लगाई र मलाई त्यहाँ सुत्न आग्रह गरिन । उनी खाटमा सुत्न लागे ! म पनि ओछ्यानमा पल्टे । किलामा झुन्डिएको टुकि बत्ती हेर्दै..आँखा चिम्म मात्र गरेर याबत कुरा दिमागमा सोचे...यतिकैमा उनी बोलिन;- 
के सोच्दै हुनुहुन्छ ? 
- यहि कि,एक स्त्री जो एक्लै यो घरमा बस्छिन,मुग्लान गएको बुडा कुर्दै.. 
- अनि ? 
- त्यो स्त्री जो केही समय सम्म अगि मैले बासको लागि अनुरोध गर्दा ढपक्क ढोका लगाएर बसेकी थिई निर्दयी मन गरेर.. 
- अरु केके सोच्नु भो ? 
- त्यहि स्त्री जो बाट मैले यस्तो दयामायाको आस गरेको थिएन तर भयो । 
- यति मात्रै सोच्नु भोकी अरु पनि केही ? 
- सोचे नि धेरै, 
- भन्नुन केके सोच्नु भो अरु ? 
- एक अपरिचित ठाँउ जहाँ म यस अघि कहिले आएको थिएन भए पनि कोहि किन यतिधेरै परिचीत लागिरहेछ मलाई ! कतै देखे जस्तो...कतै भेटे जस्तो...बोले जस्तो...सङ्गै चोखो पिरती लाए जस्तो..! आँखा आफ्नै लाग्ने,बोली आफ्नै लाग्ने,व्यबहार आफ्नै लाग्ने,मान्छे आफ्नै लाग्ने...यी यस्ता कुराहरुको आभास भैरहेको छ मलाई अहिले.. 

यसपछि उनि मौन रहि केही सोधिनन् ,केही बोलिनन् बरु एउटा मुसा लुसुक्क मेरो ठेस लगेको खुट्टामा टोकेर गयो... 
आईया ! म कराए ! तर उ बोलेनन् ! सायद गफै गफै निदाईन उनी..। मट्टितेल सकेर होला टुकि बत्ती नि निभ्यो...! 
म पनि निदाउने तरखरमा लागे...भोलि चाडै उठेर घर जाने कुरा कल्पिदै...त्यतिखेर सम्म बल्ल पानी रोक्न थालेको थियो । 

भोलिपल्ट... 
बिहान म छाना बाट खसे जस्तै भए,मुटु ढुकढुक भो ! हृदयघात होला जस्तो ! लौन मैले यो के देखे...? म अचम्मित भए...! हिजो राती ती स्त्री ले किन मलाई त्यस्तो व्यबहार गरि ? राती बाँस माग्दा किन ढोका ढ्याप्प लगाई ? किन फेरि पछेउरी ले मुख छोपेर,टुकि बत्ति बालेर ढोका खोल्न आई ? उस्को बुडाको कपडा लगाउन किन दिई ? त्यो कपडामा मलाई देखेर किन रोई ? मिठो खाना किन खुवाई ? राम्रो ओच्च्यानमा किन सुताई ? यी सबै सबै कुराको उत्तर मैले एक बिहान मै पाए यहाँ सम्म कि हिजो बिस्तारामा सुत्दा सोचेका र उस्ले नदेका हरेक प्रश्नहरुको उत्तर एकै बिहानमा पाए । उस्ले किन पछेउरी ले अनुहार ढाकिन ? उस्ले किन भन्न चाहेन ? यस्को रहस्य पनि पत्ता लाग्यो । उस्ले किन आफ्नै मान्छेलाई जस्तो माया गरिन मलाई ? किन मलाई पनि उ आफ्नै मान्छे जस्तो लागेको आभास भैरहेको थियो ? यी सबै सबै कुराको रहस्य थाहा पाए मैले,जब बिहान उठे उ अझै सुतिरहेकी थिई,सायद म अलि चाडो उठे होला घर जाने हतारोले,आमा बैनीलाई भेट्ने हतारोले... 

घर जानुपुर्व ती स्त्री जस्ले मलाई त्यस्तो अवस्थामा साथ दिई मलाई मजाले उस्को अनुहार हेरेर जान मन भएको थियो धन्यवाद दिएर ! म उस्को बिच्छ्याउना नजिक गए । उस्को अनुहार भित्ता तिर फर्केको थियो । मैले हेर्ने भन्दा बिपरित दिशातिर...खुशीको कुरा निन्द्रामै थिई उनी रत बेला बेला टाउको चलहल गर्थी । यहीँ बेला उस्ले अनुहार म भए तिर फर्कायो...म आश्चर्य चकित भए... म छाना बाट खसे...म भाबबिहोल भए ! आँखा बाट आँसु तप्प खस्यो सारा बिगत सम्झेर...किन कि ती स्त्री जो मेरो प्रेमिका थिई मायालु थिई...जिबन थिई...! मेरि प्यारी अनिशा थिइ...! मलाई थाहा थिएन उ यहाँ दोधारे गाउँमा बिहे गरेर आएको थियो ! बस मलाई त यत्ती थाहा थियो मेरो पनि एक मायालु छिन...मेरो हरेक कुरा बुझ्ने...सुख दुखमा साथ दिने...! उ के कारणले म बाट टाढा भइन ! केही जानकारी न दिई हराएको थियो आज भन्दा ७ बर्स अघि । मत अझै उ फर्किन्छ मेरो माया सम्झेर भनि कुरि बसिरहेको थिए...तर उनी त यहाँ दोधरे गाउँमा बिहे नै पो गरेर आईकी रहिछिन...मेरो आसुले उस्को घरको भुइँ चिसियो...। उस्लाई बोलाउन मन थ्यो बोलाउन सकिन । 

एक छिन दिमागमा अनेकौं कुरा खेल्यो... 
हिजो राती मैले मेरो पूरा परिचय बताएपछी सायद उस्ले पनि मलाई चिनि ! रत ढोका ढप्प लगायो । अनि फेरि पछेउरीले मुख छोपेर ढोका खोल्न आई...मैले नचिनोस भनेर...। मलाई यसरी प्रियसिले जस्तै माया गरिनु हरेक कारण बुझे । सायद अझै उस्मा पनि म प्रतिको मायाको आभास हुदो हो...! `यदि पछेउरी हटाए भने हजुर चकित पर्नुहुन्छ´ उस्को यै कुरा थियो जो मेरो दिमागमा रातभरी प्रश्न बाचक चिन्ह बनेर अडेको थियो,यस्को उत्तर पनि बल्ल थाहा पाए...। उस्ले बिगतमा `हजुरलाई छोडेर काहीं जान्न´भनेको कुरा दिमागमा बार-बार खेल्यो । अनि सोचे थाहा छैन उनी के कारणले म बाट टाढा भईन् ! म अब यो कुराको कुनै लेखा जोखा पनि राख्न चाहन्न ! उ जहाँ रहे पनि उ खुशी भएसि मलाई पुग्यो । म पनि उस्को खुशीमा रमाउने चेष्टा गरे । उस्लाई पाउनै पर्छ भन्ने लागेन...। पाउनु मात्रै पनि त प्रेम हैन भन्ने लाग्यो । काहाँ सबैको भागमा प्रेम अटिन्छ र ? आफै भित्र यस्ता बिबिध निति नियम बनाए...चित्त बुझाए...फेरि आँसु त्यै चिसो भुइँमा तप्प खस्यो...। आफू सुतेको ओछ्यान उठाईदिए...उ अझै मस्त निन्द्रामा थिइ... 

जादाँ जादै... 
उठाएको ओछ्यानको सुख्खा भुइँमा कालो अङ्गारले लेखे... 

प्रिय अनिशा... 
म हिजो पनि तिम्रो बाटो कुरि बसिरहेको थिए...भोलि पनि तिम्रै बाटो कुरि बसिरहनेछु...यो जुनि नभए अर्को जुनि...। तिमी जहाँ रहेपनी खुशी सङ्ग बस्नु...! 

- उहीँ तिम्रो कुरुवा प्रेमी सुशाल...

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।