हेटौँडा ।
चीनमा अलपत्र परेका ४४ नेपाली महिलाहरुलाई उद्धार गरी आज नेपाल फर्काउने तयारी गरिएको छ । चिनको ग्वाङझौ, खुन्मिङको बाटो हुँदै आज तीन फ्लाइटमार्फत् उनीहरुलाई काठमाडौं ल्याउन लागिएको हो ।
अलपत्र परेका महिलालाई बेइजिङस्थित नेपाली दूतावासले पहल गरेको एक महिनापछि स्वदेश फर्काउन लागिएको हो । चीनको उत्तरपूर्वी ल्याओनिङ प्रान्तको तानतोङमा अवस्थित तानतोङ गार्मेन्ट कारखानामा काम गर्न पुगेका नेपाली चेलीलाई बिना तलब काम लगाइएको थियो ।
कुनै पनि काममा दक्षता नभएको भन्दै मालिकले तलब नदिएको उनीहरुको गुनासो छ । काठमाडौंको गौशालास्थित कम्पास रिक्र्युटमेन्ट म्यानपावरले कपडा प्याकिङ गर्ने कामका साथै आकर्षक तलबको प्रलोभनमा पारेर चीन पठाएको थियो ।
सम्झौता अनुसारको काम र तलब नभएपछि उनीहरुले दूतावासमा सहयोगको आग्रह गरेका थिए । १९ देखि ३५ वर्षसम्मका ती महिला झापा, मोरङ, धरान, धनकुटा, सर्लाही, सिन्धुपाल्चोक र काठमाडौंका छन्। उनीहरुले दूतावासमा उजुरी गरेपछि म्यानपावरले नेपाल फर्किने हवाई टिकट उपलब्ध गराएको छ ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।